0
निजगढ समाचार, निजगढ, २ पौष
नेकपा एमालेका वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसवादी दलका नेताहरुसंग पुरा हुन नसक्ने माग राखेर आन्दोलन नगर्न अनुरोध गरेका छन ।
निजगढस्थित गौरीशंकर क्याम्पसको ९ औं बार्षिक उत्सव कार्यक्रम उ्दघाटन गर्दै नेता खनालले बिहिबार सो कुरा बताएका हुन ।
    मधेस जिल्लामात्र मिलाएर प्रदेश निर्माण गर्ने र जनसंख्याको आधारमा निर्वाचन क्ष्ँेत्र कायम गर्ने मधेवादी दलका नेताहरुको माग पुरा गर्न नसकिने भएकोले आन्दोलनको अर्थ नभएको नेता खनालले बताए । ‘विश्वका कुनै पनि लोकतान्त्रिक देशमा जनसंख्यालाईमात्र आधार बनाएर निर्वाचन क्षेत्र कायम भएको छैन, नेता खनालले भने नेपाल जस्तो भौगोलिक विविधता र विकटता रहेको देशमा अझ त्यो शंभव छै्रन ।’ खनालले जनसंख्या र भुगोल दुबैलाई मिलाएर निर्वाचन क्षेत्र बनाउने विषयमा आफुहरु पनि तयार रहेको भन्दै मधेसवादी दलका नेताहरुलाई त्यस्तो असान्दर्भिक माग राखेर आन्दोलन नगर्न पनि अनुरोध गरे । नेता खनालले मधेस र पहाडको संवन्ध गहिरो रहेका भन्दै प्रदेश सिमाङ्कनको नाममा यसलाई तोडन नहुने पनि बताए । मधेसवादी दलका नेताहरुले दावी गरे जस्तो मधेस जाति, भाषा, भुगोल, संस्कृति र इतिहासमा पनि अलग्गै इकाईको रुपमा नरहेको र अब पनि छुट्टै प्रदेश बनाउन नमिल्ने बताए । उनले तराईका जिल्लालाई मात्र मिलाएर प्रदेश बनाउदा भविष्यमा मधेसका जनताहरुलाई नै घाटा हुने पनि बताए । ‘राष्ट्रको आर्थिक, सामाजिक विकासको लागि हिमाल, पहाड र तराई मिलाएर प्रदेश बनाउनु पर्छ ,’ खनालले भने,  अलग गर्दा पहाडमा उत्पादन भएको विजुलीमा मधेसका जनताले बढी महशुल तिर्नु पर्ने अवस्था पनि आउन सक्छ ।’  उनले राष्ट्रिय एकता कायम गर्न र देशको समग्र विकासमा ध्यान दिएर नै नया संविधानले अधिकांश प्रदेशहरुको संरचना गरेको पनि स्पष्ट पारे ।
४ महिनादेखि जारी मधेस आन्दोलन र ३ महिनादेखिको भारतको नाकाबन्दीबाट देशको अर्थ व्यवस्था धरासाही बनेको भन्दै नेता खनालले मधेसवादी दलका नेताहरुले पनि दक्षिणी सिमामा धर्ना दिएर जनतालाई दुख दिएको पनि बताए । ‘भारतले गरेको नाकाबन्दी आफुहरुले गरेको भन्नु हास्यास्पद छ, उनले भने, कुनै पनि नेपालीले आफनु राष्ट्र विरुद्ध यस्तो अपराधिक कार्य गर्न सक्दैन ।’ उनले छिमेकी भारतको बुई चढेर मधेसवादी दलका नेताहरु सिमा धर्नामा बसेको पनि बताए । भारत सरकारसंग पनि वार्ता भैरहेकोले नाकाबन्दी चाढै खुल्ने पनि उनले बताए । ‘केही दिन भित्र नाकाबन्दी खुल्छ, उनले भने, भारतले खोलेपछि मधेसवादी दलको अवरोध पनि आफै हटछ ।’ नेता खनालले भने ।
कार्यक्रममा बोल्दै बारा क्षेत्र नं. ६ का सभासद पुरुषोत्तम पौडेलले नया संविधान विश्वको उत्कृष्ट संविधान भएको बताए । उनले मधेसवादी दलका नेताहरुले भ्रम सृजना गरेर जनतालाई अनाहकमा आन्दोलनमा उतारेको पनि बताए । ‘संविधानले कुनै समुदाय र संप्रदायलाई भेदभाव गरेको छैन, सभासद पौडेलले भने, मधेसीमार्थि  भेदभाव भयो भन्नु जनतालाई धोखा दिनु् हो ।’ उनले सविधानमा छुटेका कुराहरु शंशोधन मार्फत राख्न आफुहरु तयार रहेको पनि उनले बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रम’ख रामप्रसाद गौतम, गौरीशंकर उमाविका प्राचार्य सुर्दशन कोइराला, पुर्व गाविस उपाध्यक्ष अम्बिका चौलागाई, राप्रपा नेपालका शिवप्रसाद तिमल्सिना, रामसपार्टीका मजहर मन्सुर लगायतले बोलेका थिए । क्याम्पसका लेखापाल दिपक श्रेष्ठले आयव्याय र गोविन्द अधिकारीले शैशिक्ष विवरणको प्रतिवेदन प्रस्तुत गरका थिए । कार्यक्रमको संचालन बोधनाथ चौलागाईले गरेका थिए । कार्यक्रममा क्याम्पस भवन निर्माणको लागि आयोजना गरिएको महायज्ञमा २८ लाख १ हजार एक रुपैया रकम दान गर्ने नन्दीकिशोर र माधव न्यौपाने सहित उनको परिवार र अन्य दाताहरुलाई समेत नेता खनालले दोसल्ला र कदर पत्र सहित सम्मान गरेका थिए ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत प्रमाणपत्रले सम्मान गरिएको थियो ।

Post a Comment

 
Top