0
निजगढसमाचार, निजगढ, १० भदौं ।
बारा निजगढ–१२ का बाढी पीडितलाई निजगढका युवाहरुले खानेपानी ट्याङ्की सहयोग गरेका छन् । युथ अफ निजगढ क्लबमा आवद्ध युवाहरु निजगढ–१२ बाह्थली डम्बरी टोल र बुड्ढजोर नयाँबस्ती टोलमा पुगेर एक हजार लिटर क्षमताको ट्याङ्की हस्तान्तरण गरेको हो । बाढी र पहिरोले खानेपानी पाईप बगाएपछि ट्याड्ढी चोकमा राखेर पानी जम्मा गरेर वितरण गर्न सहज होस भनेर ट्याङ्की सहयोग गरेको क्लबका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।
क्लबले बाह्थली टोल सुधार समिति र श्रृजनशील टोल सुधार समितिलाई ट्याङ्की हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा क्लबका संरक्षक जनकराज श्रेष्ठ, सल्लाहकार जितलाल श्रेष्ठ, बाह्थली टोल सुधार समितिका सचिव चन्द्र बहादुर लामा, श्रृजनशील टोल सुधार समितिका सचिव देवराज भोलन लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष उत्सव श्रेष्ठ, पूर्व अध्यक्ष खड्गराज मैनाली, सञ्चारकर्मी महेश्वर अधिकारी, उमेश सुनार, मनिता पाण्डे लगायत क्लबका सदस्यहरु, स्थानीय राजनीतिकर्मीहरुको आतिथ्यता रहेको थियो ।

Post a Comment

 
Top