0
गोल्डकप बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्ने


निजगढसमाचार, सिमरा, २३ माघ
मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सिमरा गोल्डकपको सातौं संस्करण फाल्गुन २० गतेदेखी सुरु हुने भएको छ । 
    आयोजक नव जनजागृति युवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता फाल्गनु २० गतेदेखी २९ गतेसम्म सञ्चालन हुने भएको छ । 
    गत बर्ष चार लाख प्रथम पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले सातौं संस्करणमा पाच लाख ५१ हजार प्राप्त गर्ने भएका छन् । आयोजक क्लबले प्रतियोगिताको प्रथम पुरस्कार राशीमा यस बर्ष एक लाख ५१ हजार बृद्धि गरेको हो । 
    रुस्लान सातौ सिमरा गोल्डकपको पुरस्कार राशी मोफसलमा आयोजना हुने प्रतिष्ठित फूटवल प्रतियोगितामध्येकै उच्च हो । बिराटनगरमा आयोजना हुने बिराट गोल्डकपको प्रथम पुरस्कार राशी पाच लाख ११ नगद रहेको छ । 
    पाच महिनादेखी जारी नाकाबन्दीका बिच गोल्डकपलाई निरन्तरता दिन लागेको आयोजकले उपबिजेताले प्राप्त गर्ने पुरस्कार राशी समेत बढाएर दुई लाख ५० हजार पु¥याएको हो । अघिल्लो बर्ष उपविजेताले दुई लाख प्राप्त गरेका थिए । 
     झण्डै ६० लाख अनुमानित बजेट रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकी मोटरसाईकल पाउने भएका छन् । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजारले पुरस्कृत गर्ने भएको आयोजक क्लबका अध्यक्ष एव्म मुल आयोजक समितिका संयोजक कासिम मियाले जानकारी दिए । 
     प्रतियोगितामा तीन बिभागिय टिमसहित ए डिभिजनका पाच, बिदेशी एक र मोफसलका चार गरी १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रिस्टार क्लब, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब, हटौडा, आयोजक नव जनजागृति क्लब र एक बिदेशी टिमले सहभागिता जनाउने क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । बिदेशी टिम टुंगो लगाउन बाकी रहेको उनको भनाई छ । 
      एक महिनापछि सुरु हुने प्रतियोगिताका लागि आयोजक क्लबले मुल आयोजक समितिसहित १५ सदस्यीय सचिवाल, आर्थिक, प्रेस तथा सञ्चार, फिल्ड ब्यवस्थापन, मेडिकल, टिम ब्यवस्थापन, टिकट बिक्री तथा निरिक्षण, कार्यक्रम संयोजन, प्रचारप्रसार, पाहुना टिम ब्यवस्थापन, स्वयम सेवक परिचालन ब्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी तयारी सुरु गरेको छ । 
     आयोजक क्लबका अध्यक्ष कामिस मियाको अध्यक्षता तथा क्लबका संरक्षक एव्म पूर्वसांसद शोभाकर पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, विभिन्न उपसमितिका संयोजक, खेलप्रेमी, खेलाडीलगायतको उपस्थिती रहेको थियो । 

Post a Comment

 
Top