0
निजगढसमाचार, निजगढ, जेठ १६
बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् । बिहिबार साँझ बाराबाट अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट अपहरण मुक्त गरिएको हो । उनलाई भारतीय प्रहरीले अपहरण मुक्त गरेको थियो ।
  खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश व्यापारिक कामले बाराको वरियारपुर गएका थिए । साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
  अपहरणकारीहरुले उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । अपहरण लगत्तै उनलाई भारत पुर्याइएको थियो ।
   भारतीय समाचार एजेन्सी एएनआईले केडियाको तस्विर ट्वीट गर्दै उनी अपहरण मुक्त भएको जनाएको छ ।
  केडियालाई खोज्न मोतिहारीका एसपी जितेंद्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा विशेष अप्रेसन चलाइएको थियो ।
   केडियाको अपहरण मामिलामा मुख्य आरोपी समेत कयौंलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ । तर, हालसम्म नाम गोप्य राखिएको छ । अपहरणकर्ताहरुबाट एक स्कॉर्पियो गाडी पनि बरामद गरिएको छ ।
   हिजो मात्र अपहरणकारीले केडियालाई मुक्त गर्न १ अर्ब फिरौती मागेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेको थियो । केडियाले उक्त फिरौती बुझाएर अपहरणमूक्त भए वा प्रहरी अपरेशनबाट मुक्त भए, विस्तृत विवरण आएको छैन ।

Post a Comment

 
Top