0

निजगढसमाचार, निजगढ, ४ माघ ।

ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौ–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढारहेको बताएका छन् । 
बिमानस्थल र द्रुतमार्ग निर्माणमा भईरहेको ढिलासुस्ती अन्त्य गरि कामलाई तिब्रता दिन माग गर्दै निजगढ सरोकार समितिले मंगलवार आयोजना गरेको दवाव मुलक ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै अधिकारीले संसदिय बिकास समितिले पहिलो एजेन्डानै बिमानस्थल र द्रुतमार्ग रहेको बताए । 
राजनितिक अस्थिरताका कारण बिमानस्थल निर्माणमा भईरहेको ढिलासुस्ती भईरहेको भन्दै बिकासका काममा सबै दल र नेता एकबद्ध हुनुको बिकल्प नरहेको उनको भनाई थियो । ठुलो सम्भावना बोकेको टांगियावस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय बिमानस्थलको काम अघि बढिरहेको भन्दै सबैले प्रतिबद्ध भएर अघि बढे आर्थिक बिकासमा ठुलो टेवा पुग्ने अधिकारीले बताएका छन् । 
संसदिय बिकास समितिको जिम्मेवारी सम्हालेलगत्तै बिमानस्थल निर्माण प्रक्रियालाई आफूले अघि बढाईरहेको भन्दै अधिकारीले बिमानस्थल आयोजनाको कार्यलय स्थापना र चार किल्ला छुट्याउने काम सम्पन्न गरेको बताए । बिमानस्थल निर्माणका लागि कोरियन कम्पनीले गरेर तयार पारेको सर्भेको प्रतिवेदन खरिद गरेर भएपनि निर्माण प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको अधिकारीको भनाई थियो । 
प्रस्तावित बिमानस्थललाई देशकै मुख्य बिमानस्थलको रुपमा बिकास गर्न सकिने भन्दै अधिकारीले निर्माण र सञ्चालनपछि वर्तमान अवस्थामा देशले खेपिरहनुपरेको समस्याको पनि अन्त्य हुने अधिकारीले बताए । काठमाण्डौ भन्दा पनि टांगीयावस्तीमा प्रस्तावित बिमानस्थल अन्र्ताष्ट्रिय बिमानस्थलको हब हुने अधिकारीले बताएका छन् । 
बजारमा प्रचार गरिएजस्तो दुई नम्बर प्रदेशको अवस्था कमजोर नभएको भन्दै अधिकारीले प्रस्तावित आयोजना निर्माण गर्न सकिए देशकै सबैभन्दा सबल प्रदेशको रुपमा स्थापित हुने बताए । द्रुतमार्गका लागि सरकारले १० अर्ब बजेट बिनियोजन गरिरहेको भन्दै अधिकारीले कस्तो प्रणालीमा निर्माण गर्ने भन्ने बिषयमा अध्ययन भईरहेको बताए । 
कार्यक्रममा बारा क्षेत्र नं. ६ का सांसद एवम् संसदीय सरोकार समितिका संयोजक पुरुषोत्तम पौडेल, रौतहटका सांसद रामकुमार भट्टराई, सर्लाहीका सांसद हरि उप्रेती, दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाका निर्देशक हरि अधिकारी, वातावरणिय प्रभाव मुल्यांकन समितिका संयोजक एवम् मानवशास्त्री डा. भानुभक्त तिमिल्सीना, टांगीया सरोकार समितिका अध्यक्ष रमेश सापकोटा, कोल्बी सरोकार समितिका अध्यक्ष ढुंण्डिराज उप्रेती, राप्रपा निजगढका संयोजक खड्ग प्रसाद उप्रेती, साविक निजगढका गाविसका उपाध्यक्ष अम्बिका प्रसाद चौलागाई, फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष काठमाण्डौं समन्वय समितिका संयोजक ऋषी बडाल, दिलबहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।
सरोकार समितिका अध्यक्ष एक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सहसचिव बासुदेव तिमल्सिनाको स्वागत र थानेश्वर सापकोटाको संचालन रहेको थियो ।

Post a Comment

 
Top