0
निजगढसमाचार, सिमरा, १ फागुन ।

डुमरवाना बहुमुखी क्याम्पस, डुमरवाना (गढीमाई–१५), बाराको नवौं वार्षिकोत्सव विशेष सप्ताह विभिन्न रचनात्मक क्रियाकलापहरुसहित समापन भएको छ । वार्षिकोत्सव सप्ताह समापन गर्दै पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राज्यको शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म शिक्षा प्रणालीमा सुधार हुन नसक्ने बताउनुभयो । शिक्षालाई व्यवसायिक र व्यवहारिक नभएसम्म स्वरोजगारी र व्यवसायिक बनाउन नसकिने बताउदै त्यसका लागि सामुदायिक शिक्षालयहरुको भूमिकालाई प्रभावकारी बनाउन पौडेलले आग्रह गर्नुभयो ।
त्यस्तै सांसद मधु शाहीले भौतिक पूर्वाधारको सम्पन्नताले मात्रै क्याम्पस सफल नहुने भन्दै यसका लागि गुणस्तरीय र प्रविधियुक्त शिक्षाको प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षालाई प्राथमिकता दिएर कार्यक्रमको परिमार्जन गरेर अघि बढन शाहीले सुझाव दिनुभयो ।
वार्षिकोत्सवमा बोल्दै सञ्चालक समिति अध्यक्ष डा. कृष्ण पौडेलले शिक्षाको गुणस्तर र उद्यमशिलता अभिवृद्धिका लागि शिक्षा नीतिको व्यवहारिक कार्यान्वयनमा जोडिएका सामुदायिक क्याम्पसको प्रवद्र्धनमा सहयोगी बन्न राज्यसंग आग्रह गनुभयो । पौडेलले आगामी पांच वर्षभित्र तीन तले अत्याधुनिक भवन, प्रशासनिक भवन, कम्पाउण्डवाल निर्माण गर्ने, गुणस्तरीय र व्यवहारिक शिक्षा, प्राविधिक शिक्षालयको व्यवस्था गर्ने पञ्चवर्षीय रणनीतिक योजनासहित अघि बढेको बताउनुभयो ।
कार्यक्रममा गढीमाई नगरपालिकाका प्रमुख डिल्लीराज बेलबासे, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुख डा. विश्वम्वर शर्मा, डुमरवाना क्याम्पसका संस्थापक अध्यक्ष पलट चौधरी, जिल्ला प्रशासन कार्यालयका उपसचिव रमेशकुमार दत्त, रामराजा क्याम्पसका अध्यक्ष प्रभुनाथ पटेल, निजगढ क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरी, सपही क्याम्पसका अध्यक्ष भेषबहाुदर ढकाल, पूर्व जिल्ला शिक्षा अधिकारी जयचन्द्र चौरसिया, बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, शिक्षक अक्षय चौधरी, शिक्षाप्रेमी भरत खडका र भिमबहादुर केसी, रघुनाथपुर माविका सफिक अंसारी, पूर्वविद्यार्थी इश्वर दोङ, विद्यार्थी धन आलेलगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख किशोर शर्मा र स्वागत क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सन्तोष भुजेल, दाताहरु किर्तीनाथ अधिकारी, नारायणप्रसाद पाठक, डिल्लीकुमारी अधिकारी, पूर्वशिक्षिका मिना तिमल्सिना र पूर्वकर्मचारी सीता अधिकारीलगायतलाई सम्मानित गरिएको थियो । त्यस्तै सप्ताहव्यापी रुपमा आयोजित विभिन्न रचनात्मक क्रियाकलापहरुका उत्कृष्ट प्रतियोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसदद्वय पुरुषोत्तम पौडेल र मधु शाही, क्याम्पसका अध्यक्ष डा. कृष्ण पौडेलले सम्मान गर्नुभएको थियो ।
२०६४ सालमा स्थापित क्याम्पसमा स्नातक तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा २०० विद्यार्थीहरु अध्ययनरत छन भने साढे तीन करोडको लागतमा भवन निर्माणाधीन रहेको छ । हाल विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा परियोजनाका ५२ वटा क्याम्पसहरुमध्ये छनोट भएको डुमरवाना बहुमुखी क्याम्पसलाई सुविधा सम्पन्न बनाउने र गुणस्तर एवम् प्रतिस्पर्धी जनशक्ति उत्पादन थलो बनाउने र निकट भविष्यमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने लक्ष्य रहेको डा. पौडेलले बताउनुभयो ।

Post a Comment

 
Top