0
निजगढसमाचार, निजगढ, ३२ साउन ।
बाराको निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मले दुर्गन्ध फैलाएको भन्दै स्थानीयले आज उद्योगमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । योजना टोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा रहेका स्थानीयले आज विहान ६ बजे उद्योगको नयाँ ब्लकको दक्षिण गेटमा तालाबन्दी गरेका हुन् ।
दुर्गन्ध नियन्त्रणका लागि भएको सम्झौता कार्यान्वयनको नभएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेका स्थानीयले साउन २६ देखि ३१ गतेसम्म एक साता उद्योगको मुल गेटमा धर्मामा बसेका थिए । धर्नामा एक सय भन्दा बढी स्थानीय वासिन्दा सहभागि हुँदै आएका थिए । स्थानीयवासीले आफुहरु उद्योग ब्यवसायको विरोधी नभएको बताएका छन् । ‘हामी उद्योग ब्यवसायको विरोधि होईनौं,’ स्थानीय हरि प्रसाद अधिकारीले भन्नुभयो–ज्यानमारा उद्योगको विरोध गरेका हौं । वातावरण मैत्री उद्योगलाई हामी स्वागत गछौं ।  
राजनीतिक दलको समर्थन
उद्योग विस्थापनको आन्दोलनमा स्थानीय राजनीतिक दलहरुले समर्थन जनाएका छन् । स्थानीय राजनीतिक दलहरुको मंगलबार बसेको सर्वदलिय बैठकले उद्योगले स्थानीयसंग गरेको सहमति अनुसार उद्योग विस्थापित गर्ने विषयमा समान धारणा बनेको नेकपा माओवादी केन्द्रका नेता रबिराज दंगालले जानकारी दिनुभयो । यसअघि नै नेकपा माओवादी केन्द्रले विज्ञप्ती निकालेर आन्दोलनप्रति समर्थन जनाईसकेको थियो ।
स्थानीय प्रशासनको पहल
उद्योगको दुर्घन्धको विरोधमा आन्दोलन प्रति स्थानीय प्रशासनले चासो देखाएको छ । धर्ना सुरु भएकै दिन जिल्ला प्रशासन कार्यालय कलैयामा उद्योग प्रशासन, जिल्ला पशु सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय सहित आन्दोलनरत स्थानीयबासिन्दासंग छलफल गरेको थियो । छलफलमा उद्योगको अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रस्ताव गर्नुभएको थियो ।
उद्योगको अनुगमन
उद्योगको दुर्गन्धको विषयमा स्थानीय प्रशासनले मंगलबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको नेतृत्वमा आएको टोलीमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साह, जिल्ला पशु सेवा कार्यालय, जिसस वातावरण शाखाका प्रतिनिधि,निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारी, स्थानीय राजनीतिक दलका प्रमुख र प्रतिनिधि सहभागि थिए । अनुगमन पछि प्रतिवेदन तयार गरेर त्यसका आधारमा निर्णय गर्ने प्रशासनको तयारी छ ।
दुई वर्षदेखि संघर्ष
दुर्गन्ध फैलिएको भन्दै २०७२ सालदेखि नै संघर्षरत योजना टोलबासीसँग उद्योग प्रशासनले २०७२ साल असोज २९ गते र २०७३ चैत १३ गते दुईपटक ६ महिनाभित्र दुर्गन्ध नियन्त्रण गर्ने प्रतिवद्धता गरेको थियो । तर वाचा कागजमा मात्रै सीमित गरी आफूहरुको स्वास्थ्यमै प्रत्यक्ष असर पर्ने गरी दुर्गन्ध फैलदै गएपछि धर्नामा बस्नुपरेको टोल सुधार समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘बस्तीको बीचमा ह्याचरी खोल्दा दुर्गन्धले हाम्रो स्वास्थ जोखिममा परेको छ’ उहाँले भन्नुभयो–‘स्वास्थ्यमा खेलबाड गर्न पाइदैन, अब उद्योग नै यहाँबाट हटाइनुपर्छ ।’
१ सय ५ घरधुरी रहेको योजनाटोलका करिब ७० घरपरिवार उद्योगबाट फैलिएको दुर्गन्धबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । दुर्गन्धसँगै बर्षाको समयमा उद्योगमा लगाइएको पर्खालका कारण पानी निकास हुन नपाउँदा आफूहरुको घरभित्र पस्ने, किरा फट्याङ्ग्राले सताउने गरेको स्थानीय विण्णुप्रसाद आचार्यले बताउनुभयो । यसैगरी उद्योगले फालेको फोहोरका कारण भमरा खोला छेउका नम्बरी जग्गाका रुखहरु मरेका स्थानीयले बताएका छन् ।
नयाँ उद्योगबाट दुर्घन्ध आउँदैन : उद्योग संचालक
उद्योग सञ्चालक नवराज पौडेलले भने यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार नयाँ उद्योगबाट दुर्गन्ध नआउने दाबी गर्नुभएको छ । पुरानो उद्योगमा भने पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको र अब वाटर फिल्टर र चिम्नी जस्ता प्रविधिको प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास भइरहेको जानकारी दिनुभयो । तर उद्योग हटाउन भने नसकिने पौडेलको भनाइ छ ।
दर्ता एकातिर उद्योग अर्कोतिर
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २०७१ सालमा स्थापना भएको कान्तिपुर पोल्ट्री व्रिडिङ्ग फर्मको पुँजी लगानी ४ करोड गरेको उल्लेख छ । उद्योगले लगानीमा बृद्धि गदैै लगेको जनाएको छ । फर्मको तीन वटा उद्योग रहेको छ । घरेलुको दर्ता प्रमाण पत्रमा साविक निजगढ गाविसको वडा नं. ८ मा उद्योग स्थापना गर्ने उल्लेख छ । सो स्थानमा फर्मले दाना उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । फर्मले निजगढ नपा ७ योजना टोलमा कुखुरा पालन, अण्डा उत्पादन र चल्ला उत्पादन गर्न २ सय ५० मिटरको दुरीमा दुई वटा उद्योग स्थापना गरेको छ । उद्योगको उत्तरतर्फ तीन वटा ब्लकमा कुखुरा पालन र दक्षिणतर्फ नयाँ ब्लक स्थापना गरि अण्डा र चल्ला उत्पादन गरिदै आएको छ ।
योजनाटोलमा पौने २ विगाहामा फैलिएको एउटा उद्योगबाट दैनिक १२ हजार अण्डा उत्पादन गर्ने र अर्को करिब २ विगाहा ३ कठ्ठा क्षेत्रफलमा रहेको उद्योगबाट कुखुराको चल्ला उत्पादन गर्दै आएको छ । उद्योगमा ३५ जना मजदुर कार्यरत छ ।
संधियारीलाई थाहा छैन्
फर्मले दक्षिणतर्फ नयाँ ब्लक स्थापना गर्न स्थानीय संधियारीसंग सहमति नलिएको खुल्न आएको छ । नयाँ ब्लकको २ सय ५० मिटर दक्षिणतर्फ रहेको उद्योग स्थापना गर्न लिईएको सर्जिमिन कागजातलाई किर्ते गरेर  नयाँ ब्लक स्थापनामा प्रयोग गरेको खुल्न आएको हो ।
को हुन् संचालक ?
उद्योगका संचालक ऋषि बडाल र नबराज पौडेल हुन् । बडाल पूर्व सहकारी मन्त्री केशव बडालका भतिज हुन् । ऋषि नेपाल पशुपक्षि औषधि ब्यवसायि महासंघका केन्द्रिय अध्यक्ष समेत हुन् । पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका साईला भाई हुन् ।


Post a Comment

 
Top