0
निजगढसमाचार, निजगढ, १ भदौं ।
निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म अन्ततः बन्द हुने भएको छ । 
जिल्ला प्रशासन कार्यालय बारामा बुधबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, दुर्गन्धबाट प्रभावित स्थानीयहरु तथा उद्योग सञ्चालक नबराज पौडेलविच भएको सहमति अनुसार फर्म बन्द हुने भएको हो । 
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले उद्योग संचालकलाई उद्योग अन्यत्र सार्न निर्देशन दिएका छन् । उद्योगबाट दुर्गन्ध फैलिएर स्थानीयहरु पीडित भएका कारण प्रमुख जिल्ला अधिकारी मानन्धरले यस्तो मौखिक निर्देशन दिएका हुन् ।
उद्योग विस्थापनको माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयसंग जिल्ला प्रशासन कार्यालयमा ५ दिनभित्र लिखित सहमति गर्ने निर्णय भएको थियो । बैठकमा प्रजिअ अधिकारीसँग उद्योग सञ्चालक नवराज पौडेलले अर्का सञ्चालक ऋषि वडालसँग सल्लाह गर्नुपर्ने भन्दै समय मागेपछि सहमति पाँच दिन पर सरेको हो ।  उद्योगका २ जना सञ्चालक मध्यका नवराज पौडेलले प्रमूख सञ्चालक बडालको अनुपस्थितीमा कुनै लिखित सहमती गर्न नसक्ने जनाएपछि स्थानीयले बडाललाई निजगढमा उपस्थित गराउन पाँच दिनको सहमती दिएका हुन् । 
उद्योग अनुगमन गर्न निजगढ पुगेका प्रशासन तथा जिल्ला स्थित सम्बन्धित कार्यालयका प्रमूखले मंगलबार उद्योग परिसरमा धर्नामा बसेका स्थानीयहरुलाई भेटेर बुधबार जिल्ला प्रशासनमा छलफलका लागि बोलाएपछि स्थानीय र उद्योग सञ्चालक दुबै पक्ष बुधबार जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि पुगेका हुन् । 
बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रजिअ मानन्धर सहित उद्योग सञ्चालक पौडेल, बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवार, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमूखको उपस्थिती रहेको थियो । 
स्थानीयबासीको तर्फबाट आन्दोलनरत समितिका अध्यक्ष शिवराम श्रेष्ठ सहित नेपाली काँग्रेस निजगढका सभापति महेशी कुमर, काँग्रेस नेता शम्भु बहादुर बुढाथोकी, नेपाली काँग्रेस निजगढका पदम बहादुर भण्डारी, नेकपा एमाले निजगढ नगरपालिकाका संयोजक दिलबहादुर लामा, एमाले नेता एकबहादुर श्रेष्ठ, नारायण खड्का, सुरथ पुरी, माओबादी केन्द्रका केन्द्रिय सदस्य रविराज दंगाल, यतिराज सापकोटा, पत्रकार महेश्वर अधिकारी लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।
आन्दोलन स्थगित
जिल्ला प्रशासन कार्यालय बारामा बुधबार भएको वार्तापछि निजगढबासीले स्थानीय कान्तिपुर पोल्ट्री विरुद्ध जारी राखेको आन्दोलन ५ दिनका लागि स्थगित गरेका छन् ।
उद्योग विस्थापित गर्ने मौखिक सहमति जुटेपछि योजना टोल टोलसुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठले आफूहरुले ५ दिनका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको र जिल्ला प्रशासनमा सहमती भएबमोजिम कार्यान्वयन नभएमा पूनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 
सहमतीसंगै बुधबार विहानबाट स्थानीयले उद्योगको मुलगेटमा लगाएको ताला स्थानीय राजनीतिक दलका प्रतिनिधिको रोहबरमा साँझबाट खोलेका  छन् । 

Post a Comment

 
Top