0
निजगढखबर, रौतहट, ४ असार
पहाडी क्षेत्रमा भएको बर्षाका कारण लालबकैया नदीमा शुक्रबार बिहान अचानक बाढी आएपछि फसेका रौतहटका २६ जनालाई उद्धार गरिएको छ । रौतहटको इनर्वा गाविसमा रहेको लालबकैया नदीको बिच भागमा फसेकालाई स्थानीयको सहायतामा प्रहरीले डुंगा प्रयोग गरी उद्धार गरेको हो ।
     इनर्वा गाउँका बासिन्दा नदीको दुई किनारको बीच भागमा रहेको जग्गामा घाँस काट्न र बस्तुभाउ चराउन गएकाबेला अचानक बाढी आएपछि चारैतिरबाट पानीले घेरिएका थिए ।
      झण्डै चार घण्टासम्म नदीको बीच भागमा फसेपछि र बाढीको पानीले जुनसुकै बेला बगाउन सक्ने खतरा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
     नदीमा फसेकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दिउँसो १२ बजे सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सानुबाबु थपलियाले बताए । दिउसो घाम चर्किने कारणले बिहानै खेती किसानी गर्न खोलाको बिच भागमा रहेको जग्गामा गएको केही बेरपछि बाढी आउदा गाउँलेहरु फसेको उपरिक्षक थपलियाले बताए ।
     नदीमा फसेका इनर्वा १ का प्रमोदकुमार पटेल, जोगेन्द्र गिरी, सविता देवी, पुष्पा कुमारी, लगायत २६ जनालाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

Post a Comment

 
Top