0
निजगढसमाचार, निजगढ, १९ कातिक ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघको विस्तारित वैठक आज सिमरास्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको सभाकक्षमा सम्पन्न भएको छ । वैठकमा संघका सञ्चालक समिति, लेखा समिति र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
 संघका अध्यक्ष भोला गौतमको अध्यक्षता र निवर्तमान अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको विशेष उपस्थितिमा सम्पन्न वैठकले संघको आगामी कातिक २५ गते डुमरवानामा आयोजना हुने सातौं वार्षिक साधारणसभालाई भव्य र व्यवस्थित बनाउन विभिन्न कार्ययोजनाहरु तय गरेको छ । डुमरवाना बहुमुखी क्याम्पसको सभाकक्षमा हुने साधारणसभाको आयोजना र व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
 वैठकले संघको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनहरु पारीत गर्दै आगामी कार्ययोजना प्रस्तावसमेत तयार गरेको  छ । संघको वार्षिक साधारणसभामा प्रकाशनको तयारीमा रहेको स्मारिकालाई अन्तिम रुप दिनका लागि कृष्ण पौडेलको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, राजु अधिकारीको संयोजकत्वमा वार्षिक साधारणसभा संयोजन र आर्थिक व्यवस्थापन समिति र अम्विका चौलागाईको संयोजकत्वमा निर्वाचन समिति गठन गरी कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
 वैठकमा सल्लाहकारहरु मुकुन्दबहादुर क्षेत्री, अम्विका चौलागाई, लक्ष्मी चौधरी, उपाध्यक्ष शम्भु राम, सचिव सत्तेन्द्र ठाकुर र कोषाध्यक्ष अनिता अधिकारी लम्साललगायतको उपस्थिति रहेको थियो ।
 सात वर्षअघि स्थापनामा भएको जिल्ला बचत तथा ऋण सहकारी संघमा हाल १६२ सदस्य संस्थाहरु रहेका छन । सदस्य संस्थाहरुको हकहित, बचत, अन्तरलगानी र क्षमता अभिवृद्धिका विभिन्न क्रियाकलापहरु संघले गरिरहेको छ ।

Post a Comment

 
Top