0
महेश्वर अधिकारी, निजगढ, ३० साउन
बाराको निजगढ नगरपालिका–९ देउराली पथस्थित समुदायमा आधारित प्रसुती गृहको तेस्रो साधारण सभा स्थगित भएको छ । बन्द सत्रमा प्रस्तुत आर्थिक प्रतिवेदनको छलफलका क्रममा विवाद भएपछि साधारण सभा स्थगित भएको हो ।
निजगढ सामुदायिक अस्पताल ब्यवस्थापन समितिका लेखापाल उत्तम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०६७ देखि २०७२ सम्मको आर्थिक प्रतिवेदनमा आर्थिक हिसाव किताब प्रस्ट नभएकाले पारित नभएको कारण साधारण सभा स्थगित गरिएको समुदायमा आधारित प्रसुती गृहका अध्यक्ष एक बहादुर श्रेष्ठले जानकारी दिए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किशोर नेपालका अनुसार आर्थिक प्रतिवेदनमा छाप र सहि छुटेको विषयलाई लिएर आर्थिक प्रतिवेदन पारित हुन नदिएको हो । साधारण सभा हुन नसकेपनि वर्षेनि लेखा परिक्षण गरिदै आएको भएपनि आफुले गरेको कामको अमूल्यन भएकाले दुःख लागेको नेपालले निजगढ समाचारसंग बताए ।
यसैविच आर्थिक प्रतिवेदनको छानविन गर्न समिति बनार्ईएको छ । मुरारी खनाल संयोजक रहेको ५ सदस्यीय समिति गठन भएको छ । समितिमा हस्त बहादुर लामा, दुर्गा प्रसाद कोईराला, ज्ञानेन्द्र प्रसाद चौलागाई र भाईकाजी श्रेष्ठ सदस्य रहेका छन् । समितिलाई एक महिना भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
आन्तरिक विवादका कारण लामो समय देखि साधारण सभा हुन नसकेको संस्थाको पुन ः साधारण सभा अनिश्चित बनेको छ । साधारण सभाको बन्द सत्रले नयाँ नेतृत्व समेत चयन तयारी थियो । बन्द सत्रले अध्यक्ष श्रेष्ठको प्रगति प्रतिवेदन र विधान संशोधन प्रस्ताव भने स्वीकृत गरेको छ ।

Post a Comment

 
Top