0
निजगढ समाचार, हेटौडा, २५ असोज
जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकथान पेस्तोलसहित ३ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी २ स्थित प्रहरी चेकपोष्टमा हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज २९१५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा लोड गरेको एकथान पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको हो ।
    सुमोमा सवार मकवानपुर मनहरी गाबिस ६ बस्ने वर्ष १८ को बिनोद राईले झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा म्यागजिनमा ९ राउण्ड गोली लोड भएको अर्ध स्वचालित पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ । राईलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हतियार र गोली दिई पठाउने बाराको गढीमाई नगरपालिका १ बस्ने वर्ष ३६ को रिफबहादुर थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो ४ बजे हेटौडा उपमहानगरपालिका।९ स्थित हनुमानगेटबाट पक्राउ गरेको हो ।  
    सोही घटनामा संलग्न भनी खुल्न आएका भारत मोतिहारी बेलहैया ५ घर भई हाल काठमाडौं पुरानो बसपार्क बस्ने वर्ष २२ को मोहमद समिर अन्सारीलाई राती महानगरीय अपराध महाशाखाको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक शिशु शर्माले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Post a Comment

 
Top