0

निजगढसमाचार,सिमरा, २ चैत्र 
भर्खरै सम्पन्न भएको मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सिमरा गोल्डकपको सातौं संस्करणबाट आयोजक नव जनजागृति युवा क्लबले झण्डै १९ लाख बचत गरेको छ ।

आयोजक क्लबले मंगलवार सिमरामा पत्रकार सम्मेलन गरी फाल्गुन २० देखी २९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट सम्पूर्ण खर्च कटाएर १८ लाख ७० हजार बचत भएको जानकारी गराएको हो । 
प्रतियोगिताको आयब्यव सार्वजनिक गर्दै पत्रकार सम्मेलनका क्लबका अध्यक्ष कासिम मियाले गोल्डकपका लागि प्रायोजक, सहप्रयोजक र बिभिन्न चन्दादाताले सहयोग स्वरुप दिएको रकमबाट खर्च कटाएर क्लबले ठुलो धनराशी बचत गर्न सफल भएको जानकारी दिए । बचत रकम क्लबको खातामा जम्मा गरिने र रंगशाला निर्माणसहित फूटवल एकेडेमी सञ्चालनमा आवश्यकता अनुसार खर्च गरिने बताए ।
सातौं संस्करणका लागि बिभिन्न क्षेत्रबाट क्लबलाई ५१ लख १८ हजार सहयोग प्राप्त भएको र जसमध्ये ३२ लाख आठ हजार खर्च भएको मियाको भनाई छ । मियाका अनुसार प्रायोजक, सहप्रायोजक र चन्दादाताबाट क्लबले ४३ लाख १० हजार रुपैया सहयोग प्राप्त गरेको छ । त्यसबाहेक टिकट शुल्कबाट मात्रै आठ लाख पाच हजार र सवारी पार्किङबाट पाच हजार नगद संकलन भएको मियाले बताए । 
संकलित रकमबाट क्लबले सहभागी टिमको ‘म्याच फि’ र रेफ्री तथा अफिसियलका लागि १० लाख ४६ हजार रुपैया खर्चिएको छ । बिजेता, उपविजेता टिमसहित सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई दिइएको पुरस्कारमा १० लाख १८ हजार रुपैया खर्च भएको अध्यक्ष मियाले बताए । देशकै प्रतिष्ठित फूटवल प्रतियोगिताको रुपमा रहेको गोल्डकपलाई ब्यवस्थित बनाउने क्रममा ब्यवस्थापकिय खर्चमा क्लबले सात लाख ६९ हजार खर्च गरेको छ । 
खेलाडी तथा अतिथि बसोबास र भोजनमा क्लबले स्थानिय होटलमा झण्डै दुई लाख ७४ हजार रकम तिरेको क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । खेलकुदसंगै सांस्कृतिक मनोरञ्जन दिन फाईनलको अघिल्लो दिन आयोजना गरिएको सांस्कृति कार्यक्रममा एक लाख तीन हजार खर्च भएको सचिव ठकुरीले बताए ।
क्लबले टिकबाट संकलित रकमको पाच प्रतिशत रकम वातावरण र अपाङता भएको ब्यक्तिको संगठनमा सहयोग पु¥याएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मियाले स्थानिय थानीमाई सामुदायिक बन उपभोक्ता समिति र नेपाल अपाङ सेवा संघ बारालाई जनही २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् । 
क्लबका अध्यक्ष मियाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रलाई सहयोग पु¥याउने क्रममा टिकटको पाच प्रतिशत रकम संघसंस्थालाई सहयोग गरिएको बताए । क्लबले सिमरा गोल्डकप आयोजना गरेर सिमरामा फूटवल एकेडेमी सञ्चालन गर्नुका साथै बिभिन्न समयमा स्वास्थ्य शिविरलगायतका रचनात्मक काम गर्दै आएको छ । 
यस क्षेत्रको उत्सवकै रुपमा रहेको सिमरा गोल्डकपको उपाधी हेटौडाको विजय युथ क्लबले जित्दै पाच लाख ५१ हजार पुरस्कार राशी हात पारेको थियो । हेटौडासंग ४–० ले पराजित हुदै उपबिजेता बनेको रुपन्देही ११ ले भने दुई लाख ५० हजारमा चित्त बुझाएको थियो । प्रतियोगितामा ए डिभिजनका पाच सहित १० टिम सहभागि थिए ।

Post a Comment

 
Top