0

निजगढसमाचार, सिमरा, २ पुष ।

रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण माघको तेस्रो सातादेखी सुरु हुने भएको छ । आयोजक नव जागृति युवा क्लबले सिमरा सिमरास्थित होटल प्याराडाईजमा शनिवार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सिमरा रंगशालामा सञ्चालन गरिने प्रतियोगिता माघ २० देखी २९ गतेसम्म चल्नेछ । 
   प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागिता रहने भएको छ । पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, बिभागिय टिम नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, सरस्वती युथ क्लबसहित साविकको बिजेता बिजय युथ क्लब, उपबिजेता रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब र आयोजक नव जागृति युवा क्लब रहेका छन् । 
आयोजक क्लबका अध्यक्ष कासिम मियाका अनुसार प्रतियोगितामा सहभागी हुने टिममा केही परिवर्तन हुनसक्ने जानकारी दिए । ‘अहिले सम्भावित नाम सार्वजनिक गरेका छौ, यसमा केही हेरफेर हुनसक्नेछ । ’ 
सातौं संस्करणसम्म मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहेको सिमरा गोल्डकपमा यस बर्ष पुरस्कार राशीमा कुनै बृद्धि गरिएको छैन् । आयोजकले यस बर्ष पनि प्रतियोगिताको बिजेतालाई पाच लाख ५१ हजार दिने भएको छ । उपबिजेताले दुई लाख ५० हजार प्राप्त गर्नेछ । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत बर्षझै सुजुकी मोटरसाईकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने भएका छन् । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस बर्ष पाच हजार नगदसहित ट्रफि दिने भएको छ । 
क्लबका अध्यक्ष कासिम मियाले पुरस्कार राशी बृद्धि गर्नुभन्दा पनि उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार उलपब्ध गराउने उदेश्य रहेको बताए । आयोजकले गतबर्ष जस्तै यस बर्ष पनि बिक्री भएको टिकटको पाच प्रतिशत रकम वातावरण संरक्षणमा गर्न गरिने मियाले बताएका छन् । 
आयोजकले यस बर्ष प्रत्येक खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अफिसियल ब्रोडकास्टर रहेको डिस होम स्पोर्टस्ले खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको हो । आयोजकले पत्रकार सम्मेलनमा सिमरा गोल्डकपको गित समेत सार्वजनिक गरेको छ । पत्रकार सन्तोष देउजाको शब्द, अर्जुन पोख्रेलको संगित र विकास पाण्डेको संयोजनमा तयार भएको गित चर्चित गायक प्रमोद खरेल लगायतको गायका छन् ।

Post a Comment

 
Top