0

निजगढसमाचार, वीरगंज २६ मंसिर ।

रक्सौल स्थित रेल्वे स्टेशन क्षेत्रका बासिन्दाले आज देखि नेपाल तर्फ आयात गर्ने सिमेन्ट कच्चा पदार्थ ‘क्लिंकर’को ढुवानी ठप्प  पारेपछि वीरगंज पथलैया औद्योगिक करिडोरका १० वटा सिमेन्ट उद्योगको  उत्पादन प्रभावित हुने भएको छ । 
भारतीय रेल्वेको गोदामबाट नेपाल आउने क्लिकर लगायतका कच्चा पदार्थको ढुवानीले प्रदुषण बढाएको बन्दै रक्सौलका स्थानियबासीन्दाले रक्सौल कष्टम स्थित भरतिया धर्मशाला नजिकैको सडक खण्डमा आज विहानै देखि धर्नामा बसेपछि नेपाल तर्फ आयात हुने क्लिंकर ठप्प भएको हो । 
भारतीय रेल्वे संगै नेपाल रेल्वेको समेत रक्सौलमा २२ विगाहा जग्गा रहेको र सो जग्गामा रेल मार्फत ल्याईएको क्लिंकर खन्याएर सो क्षेत्रबाट ट्रक तथा टिपरहरुले नेपाली सिमेन्ट उद्योगहरुलाई आवश्यक पर्ने क्लिंकर ल्याउने गरेका थिए । 
नेपाली जग्गामा समेत भारतीय रेल्वेलाई भाडा तिरेर राखिएको क्लिंकर ल्याउन नपाएपछि व्यवसायिहरु दोहोरो मारमा परेका छन् । रेल्वे स्टेशन क्षेत्रका बासिन्दाहरुको संगठन ‘स्वच्छ रक्सौल’ अभियानले क्लिंकर ढुवानीमा अवरोध पुर्याएपछि उत्पन्न समस्या समाधानका लागि आज वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । 
उत्पन्न समस्या समाधानका लागि आजै आफूले भारतको रक्सौल स्थित एसडिएमको कार्यालयलाई पत्र लेखि पठाएको र यसबारेमा पूर्वी चम्पारणका डिएम तथा सम्बन्धित निकायलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । 
   यता वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप कुमार केडियाले यो समस्या नेपाली आयातकर्ताका कारण नभई भारतीय रेल्वेको कारण जन्मिएको हुंदा उसैले समाधान गर्नु पर्ने बताउनुभयो । 
नेपाली सिमेन्ट उद्योगहरुलाई धारासायी बनाउने गरी स्थानियले अवरोध गर्दा रक्सौलस्थित एसडिएमको कार्यालयले उदासिनता देखाएकोमा केडियाले चिन्ता व्यक्त गर्नु भयो । 
   उत्पन्न समस्या समाधानका लागि वीरगंज उद्योग वाणिज्य संघले रक्सौल कष्टम, विरगंज स्थित भारतीय महावाणिज्य दुतावास लगायत उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र भन्सार विभागलाई समेत जानकारी दिईएको केडियाले बताउनु भयो । 
   वीरगंज नाकाबाट मासिक रुपमा झण्डै १ करोड २४ लाख १३ हजार ६ सय ४३ मेट्रिक टन क्लिंकर आयात हुने गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।

Post a Comment

 
Top