0


निजगढसमाचार, निजगढ, १८ फागुन ।
व्यवस्थापिका संसदको लेखा समितिले चालू आर्थिक वर्षभित्र ‘फास्ट ट्रयाक’को ठेक्का लगाईसक्ने लेखा समितिको निर्णय गरेको छ । सिहंदरबारमा हिजो बसेको समितिको बैठकले चालू आर्थिक वर्षभित्र बोलपत्र आह्वान गरेर ठेक्का लगाईसक्ने निर्णय पारित गरेको हो । समितिले त्यसका लागि आवश्यक रकम व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
समितिले पाँच वर्षभित्र काम सक्न सरकारलाई निर्देशन दिएको छ । समितिले आउँदो २०७७÷०७८ सालभित्र निमार्ण सकिने गरी फास्ट ट्रयाकको काम अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै बाँकी जग्गा अतिग्रहन यसैवर्ष सकिने र इपिसी मोडल सिफारिस गर्न समितिले सासंदहरुसँग छलफल गर्ने भएको छ । समितिले भारतीय कम्पनी वित्तीय परियोजना प्रतिवेदन दिने सम्बन्धमा छिटै निर्णय लिन निर्देशन दिएको छ ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले आफ्नै स्रोतमा आयोजना बनाउन सिफारिस गरेको थियो । समितिले तीन स्थानमा कार्यालय खोलेर एक महिना भित्र काम सुरु गर्न सकिने समेत सुझाव दिएको छ ।
यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फास्ट ट्रयाक प्रवेशद्धारमा बसेको अनशनलाई माघ २९ गते सम्बोधन गर्दैै एकाध महिना भित्र आफुले नै फास्ट ट्रयाक शिलन्यास गर्ने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रतिवद्धता संगै फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल संघर्ष समितिले ८ औं दिन अनशन तोडेको थियो । समितिले फास्ट ट्रयाक मार्ग हुँदै काठमाण्डौंसम्म ६१ जना पैदल यात्रीसहित पैदल यात्रा गरेर प्रधानमन्त्रीलाई ५५ हजार शिक्का, एक लाख ५० हजार हस्ताक्षर र ज्ञापन पत्र बुझाएको थियो ।

Post a Comment

 
Top