0
निजगढसमाचार, सिमरा, २६ फागुन ।
विश्व मृगौला दिवसको अवसरमा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई करीव ३० हजार रुपैया बराबरको इलेक्ट्रिल फिल्टरसहित खानेपानी धारा सहयोग गरेको छ । 
सहयोग सामाग्री आज विहान संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलले सहकारीहरु सामाजिक व्यवसाय भएको नाताले समुदायको वित्तिय आवश्यकता अलावा शिक्षा स्वास्थ्यसमेत सरोकारको विषय भएको बताए । डा. पौडेलले सहकारीहरुले आफुलाई सफल संस्थाको रुपमा विकास गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न ध्यान दिनुपर्ने बताए । हातेमालो साकोसले वित्तिय सेवा अलावा विभिन्न सामाजिक क्रियाकलाप अघि बढाइरहेको पौडेलले बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. श्रवण मण्डलले मानव शरिरमा मृगौलाको महत्वपूर्ण भूमिका रहेको बताउदै मृगौलालाई स्वस्थ र प्रभावकारी राख्न पर्याप्त र सुद्ध खानेपानीको जरुरत रहेको बताए । मृगौला, मुटु र मधुमेहजस्ता अतिरोगको प्रकोप बढदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डा. मण्डलले नियमित स्वास्थ्यपरीक्षण र खानपिन तथा जीवनशैलीमा सुधार ल्याउनुपर्ने बताए ।
हातेमालो सामाजिक सेवा उपसमिति संयोजक बरुण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डा. अनुश, हातेमालो सहकारीका उपाध्यक्ष विनोद कलवार, कोषाध्यक्ष शिव वाग्ले, सञ्चालकहरु सञ्जय साह, पेशल मुल्मी, सुशिला आचार्य, क्षमादेवी अधिकारी, सामाजिक सेवा उपसमिति सदस्य नवराज न्यौपाने, स्वास्थ्येकन्द्रका प्राविधिक अशोज जायसवाल, लेखापाल हरि विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । 
करीव नौ वर्षअघि स्थापना भएको हातेमालोले २६०० सदस्यहरुवीच करीव २६ करोडको कारोवार गरिरहेको छ । मध्यतराईको उत्कृष्ट वचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको संस्थाले समुदायको वित्तिय सशक्तीकरण अलावा विभिन्न सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु गरिरहेको छ । 

Post a Comment

 
Top