0
निजगढखबर, सिमरा, २० जेठ
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार बाराका श्रमजीवी पत्रकार एवम् कान्तिपुर दैनिकका सम्वाददाता पवन यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।
   लामो समयदेखि बाराको पत्रकारिता क्षेत्रमा सक्रिय र सहकारी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत पत्रकार यादवलाई दस हजार नगद रहेको पुरस्कार प्रदान गरिने भएको हातेमालोका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । दुई महिना अघि संस्थाका बरिष्ठ सञ्चालक ईद्रिस मिया संयोजक, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय र पत्रकार दिवाकर भण्डारी सदस्य रहेको पुरस्कार चयन समितिले पत्रकार यादवको नाम संस्थालाई सिफारिस गरेको हो । समितिले गरेको सिफारिसका आधारमा संस्थाले बुधवार यादवलाई पुरस्कार दिने निर्णय गरेको पौडेलले बताउनुभयो । संस्थाले यसअघि स्व. पत्रकार विनोद प्याकुरेललाई मरणोपरान्त र पत्रकार दिवाकर भण्डारीलाई हातेमालो सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । आगामी आठौं वार्षिक साधारणसभामा पत्रकार यादवलाई पुरस्कार वितरण गरिने समेत पौडेलले जानकारी दिनुभएको छ ।
   यसैगरी यस वर्षको हातेमालो वर्ष सम्मान सहकारी क्षेत्रमा सिमराका मुकुन्दबहादुर क्षेत्री, शिक्षा क्षेत्रमा डुमरवानाका ध्रुव पोखरेल र साहित्यतर्फ जीतपुरका साहित्यकार हृदयनारायण चौधरीलाई प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो । त्यसैगरी संस्थाका जेष्ठ सदस्य सिमराकी ९९ वर्षीया खगिश्वरा उपाध्यायनी र ७४ वर्षीय मणिरत्न पाध्यालाई जेष्ठ सदस्य सम्मान, सिमराकै मंगले सार्कीलाई उत्कृष्ट व्यवसायी र संस्थाका कार्यालय सहायक मञ्जु शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिने भएको छ । त्यसैगरी उत्कृष्ट कारोवारकर्ताको रुपमा जीतपुरका मकसुद आलम अन्सारी, सिमराका शत्रुघ्न हलुवाई, डुमरवानाका ज्ञानेन्द्रकुमारी पाण्डे र पथलैयाका पुष्पबहादुर लामा र बचततर्फ जीतपुरका अजय विश्वकर्मा, सिमराका यदुकुमार गौतम, डुमरवानाका लिला राजथला शिवभक्ति र पथलैयाका वुद्धिमाया लामालाई सम्मानको लागि चयन गरिएको छ ।
    त्यस्तै कार्यक्षेत्रभित्रका क्याम्पसका उत्कृष्ट विद्यार्थी र अभिभावकहरुलाई पनि वर्ष सम्मान प्रदान गरिने भएको छ । यसरी सम्मानित हुनेहरुमा डुमरवाना बहुमुखी क्याम्पसका विद्यार्थी गंगा महतो र अभिभावक जीतेन्द् महतो, विद्यार्थी कृष्ण पौडेल र अभिभावक धर्मदत्त शर्मा, सिमरा कलेका विद्यार्थी अन्दिप धिताल र अभिभावक हरिप्रसाद धिताल, विद्यार्थी सिर्जना सुवेदी र अभिभावक राजेन्द्र सुवेदी र त्यसैगरी गौरीशंकर बहुमुखी क्याम्पस निजगढका विद्यार्थी गोविन्द तिमल्सेना र अभिभावक कृष्णप्रसाद तिमल्सेना र विद्यार्थी सिर्जना सुवेदी र अभिभावक राजेन्द्र सुवेदीलाई सम्मान गरिनेछ ।
   यस वर्ष महाभूकम्पको कारण सिर्जित जनधनको क्षति, पिडा र त्रासदीका कारण वार्षिकोत्सव विशेष सप्ताहका सबै कार्यक्रमहरु स्थगित भएको कारण उक्त सम्मान तथा पुरस्कार आगामी भाद्रमा हुने आठौं वार्षिक साधारणसभामा वितरण गरिने सञ्चालक ईद्रिस मियांले जानकारी गराउनुभयो ।
   यस वर्ष हातेमालो वार्षिकोत्सवका सबै कार्यक्रमहरु स्थगित गरेर महाभूकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणका लागि दोलखा जाने तयारी संस्थाले गरिरहेको छ । वैठकमा संस्थाका उपाध्यक्षहरु विनोद कलवार र सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले र व्यवस्थापक महेश ढुंगेललगायतको सहभागिता रहेको थियो ।
    २०६५ जेठ २० गते स्थापना भएको हातेमालोमा हाल १ हजार छ सय सदस्यहरुवीच साढे सो¥ह करोडको कारोवार गरिरहेको छ । संस्थाले मध्यतराईकै एक उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको छ ।

Post a Comment

 
Top