0
निजगढ समाचार
बारा,१२  साउन – राष्ट्रिय गौरवको आयोजना निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नक्सांकन सुरु गरी पिलर राख्ने काम थालिएको छ । बाराको सिमरामा जेठ अन्तिम साता स्थापना गरिएको फिल्ड कार्यालयका प्राविधिकहरूले साता अघि चारकिल्ला प्रमाणितको काम गरी पिलर राख्न थालेको हो ।
८ हजार हेक्टर बढी क्षेत्रफलमा ४ किल्ला प्रमाणित गर्न ‘कन्सल्टेन्ट हायर’ गरी ४ जना प्राविधिक टोलीले विमानस्थललाई चाहिने जग्गा छुट्ट्याउने र पिलर धमाधम गाड्ने काम साता अघिदेखि थालिएको आयोजना सिमरा फिल्ड कार्यालयका सहायक प्रमुख शम्भु मण्डलले बताए ।
उनले प्राविधिकका साथसाथै वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन पनि सँगै भइरहेकोले नापी विभागका टोलीलाई बोलाई सकेको बताए । १र२ दिनभित्रै अन्य थप कामसमेत हुने उनले बताए ।
राष्ट्रिय घना जंगलको बीचमा ऐलानी १६२० घर घुरी र ९०० बिगाह आवादी जमिन रहेको आयोजनाभित्र काटगाउँको ८४ बिगाह निजी जमिनसमेत पर्ने जनाइएको छ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमान आयोजना फिल्ड कार्यालय जेठमै पायक पर्ने हिसाबले सिमरामा स्थापना गरेको थियो । करिब ८० किलोमिटर स्क्वायर फिट अनुमान गरिएको विमानस्थलका लागि नक्साभित्र ८० प्रतिशत घना जंगल पर्ने प्राविधिकहरू बताउँछन् ।
सरकारले केही समयअघि जग्गाको रेखांकन गर्न नापी विभागलाई निर्देशन दिएको थियो । घना जंगल र बस्तीमा रहेका विमानस्थल क्षेत्रमा रेखांकन गर्ने विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न आव ०६७÷६८मा डेढ अर्ब र गत आर्थिक वर्ष ५० करोड बजेट विनियोजन गरेको थियो । यस वर्ष १ अर्ब छुट्ट्याइएको यसै क्षेत्रका सभासद तथा युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले बताए ।
नीतिगत निर्णय अभावमा सीमांकन गर्न र जग्गा छुट्ट्याउन नसकिएकाले जग्गा अधिग्रहण र बस्ती व्यवस्थापनका लागि सरकारले छुट्ट्याएको बजेट खर्च नभएको समेत मन्त्री पौडेलले बताए । यसअघि ढिलासुस्तीको विरोधमा निजगढ र टाँगिया बस्तीका बासिन्दाले पटक–पटक विरोध र चक्काजाम गरेका थिए । निर्माणमा चासो देखाउँदै भारत सरकारले भारतीय विमानस्थल प्राधिकरणको ४ सदस्यीय टोलीलाई प्रस्तावित निजगढ विमानस्थलको स्थलगत अनुगमन गराएको थियो ।
उनीहरूले विमानस्थलको वरिपरिका भू–बनोट र निर्माणबारे के गर्न सकिन्छ भन्ने विषयमा चासो राखेको मण्डलले बताए । त्यस्तै २ साताअघि जापानी दूत मससी ओगावा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल तथा बस्ती क्षेत्र निरीक्षण गरेका थिए ।
पछिल्लो समय विमानस्थल बन्ने क्षेत्रमा मुलुकका मन्त्री, पूर्वप्रधामन्त्री, स्वदेशी, विदेशी विज्ञ प्राविधिक, राजदूतहरूको आवागमन बढेको छ भने विमानस्थल निर्माणको चर्चाले टाँगिया बस्तीको सबै काम ठप्प रहेको स्थानीय रमेश सापकोटाले बताए ।




Post a Comment

 
Top