0
भरतपुर अस्पतालमा ७४ लाख बढीको निःशुल्क उपचार

 निजगढ समाचार १० साउन, चितवन । चितवनको भरतपुर अस्पतालले सामाजिक सेवा इकाइ मार्फत ७४ लाख १८ हजार ६२ रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गरेको छ ।

अति गरिव, असहाय, अपाङ्ग, जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित महिला स्वास्थ्य स्वंयसेवी र भूकम्प पीडितहरूलाई सामाजिक सेवा मार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको हो ।
आर्थिक बर्ष ०७१र७२ मा नेपाल सरकारको ६२ लाख र अस्पताल बिकास समितिको १२ लाख १८ हजार ६२ रुपैयाँ बराबरको निःशुल्क उपचार गरिएको सामाजिक सेवा इकाइ प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
आर्थिक बर्ष २०७१र७२ मा ३ हजार ८ सय २९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । जसमध्ये अति गरिव पुरुष १ हजार ४६ जना र महिला १ हजार १८ जना, असहाय ९५ जना पुरुष र ५७ जना महिला, अपाङ ४३ जना पुरूष र २८ जना महिला, जेष्ठ नागरिक ५ सय ६१ पुरुष र ६ सय ५० महिला, लैंगिक हिंसा पीडित ५ जना महिला, महिला स्वास्थ्य स्वंयसेविका ४५ जना, भूकम्प पीडित १ सय ४९ जना पुरुष र १ सय ३५ जना महिलाहरुले निःशुल्क रुपमा उपचार गराएका छन् ।
‘यो सेवा समाजिक सेवा इकाइ मार्फतको मात्र हो,’ इकाइका प्रमुख सापकोटाले भने, ‘अक्सिजन, अप्रेशन र बिरामीलाई रगत वापतको सेवामा अस्पताल आफैले छुट्टै खर्च गरेको छ, त्यसलाई यसमा समावेश गरिएको छैन ।’
भरतपुर अस्पतालमा गरिव, विपन्न तथा सिमान्तकृत समुदायहरुले निःशुल्क सेवा लिन आउदा नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानीय निकायको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ ।
असहायका लागि प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक संस्था वा व्यक्तिको सहयोगमा आएकाहरुलाई निःशुल्क उपचार गरिने व्यवस्था छ ।
यस्तै, अपाङ्गहरूका लागि महिला विकास शाखाले जारी गरेको परिचय पत्र, जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । साथै लैंगिक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वयमसेविका महिलाहरूलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

Post a Comment

 
Top