0
महेश्वर अधिकारी, निजगढ, १५ साउन
बाराको निजगढ नगरपालिका पहिलो खुला दिसा मुक्त नगरपालिका बनाउने तयारी भएको छ । आफ्ना तीन वटा वडालाई बारा जिल्लाकै पहिलो खुला दिसा मुक्त घोषणा गर्न सफल भएको निजगढ नगरपालिकालाई मध्यतराईकै पहिलो खुला दिसा मुक्त नगरपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको दाबी गरिएको छ ।
निजगढ खानेपानी तथा सरसफाई संस्थामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठिमा यस्तो दाबी गरिएको हो । खानेपानी सुरक्षा टोली र उपभोक्ता समितिलाई मुहानदेखि मुख सम्म स्वच्छ पानी पु¥याउने विधि र प्रकृयाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सहभागिले खानेपानी र सरसफाई संगै जोडिएकाले खुला दिसा मुक्त नगर बनाउन क्रियाशिल हुने प्रतिवद्धता समेत ब्यक्त भएका छन् ।
     खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका ईन्जिनियर गोपीलाल भगतका अनुसार निजगढ खुला दिसा मुक्त गर्ने आफुहरुको प्रयासले मुर्तरुपम लिन लागेको बताका छन् । निजगढ खुला दिसा मुक्त हुने वित्तिकै यसको प्रभाव जिल्लाका दक्षिण भेगमा समेत पर्ने भएकाले सबै लागेर अभियान सफल पार्नुपर्ने बताउँछन् ।
     नेपाल रेडक्रस निजगढ उपशाखाका सरसफाई सहजकर्ता बद्रिप्रसाद चिमरियाले चर्पि बनाउन धन भन्दा पनि मन हुनुपर्ने धारणा राख्छन् । खुला दिसा मुक्त नगर बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने उनी बताउँछन् ।
     वातावरण र जनस्वास्थ्य संस्थाका जिल्ला संयोजक जिवेन्द्र घिमिरेले नगरपालिकाका विभिन्न वडा खुला दिसा मुक्त गर्न आतुर रहेकोले नागरिक वडा मञ्च मार्फत नगरपालिकामा घोषणाका लागि जाने तयारीमा रहेको बताए ।
     सरकारले सन् २०१७ सम्म नेपाललाई खुला दिसा मुक्त बनाउने घोषणा गरेपनि पर्सादेखि सप्तरीसम्मको ८ जिल्लालाई खुला दिसा अभियानको कालो सुचिमा राखेको छ । निजगढ खुला दिसा मुक्त भएमा यी ८ जिल्लाकै पहिलो खुला दिसा मुक्त नगरपालिका हुनेछ ।
तीन वटा गाविस मिलेर बनेर निजगढ नगरपालिकाको साविकको भरतगञ्ज सिंगौल खुला दिसा मुक्त भईसकेको छ भने रतनपुरीको २० प्रतिशत घरहरुमा मात्र चर्पि बनाउन बाँकी छ । खुला दिसा मुक्त बनाउन कछडिया समुदायको बसोबास रहेको पुरानो निजगढ, दनुवार टोल, ४ नम्बर वडाको माझी टोल, ८ नम्बर वडाको खयरघारी र रैया टोल चुनौति देखिएको छ ।
निजगढ नगरपालिकाका योजना शाखा प्रमुख नविन खनालले असोज महिना भित्र निजगढलाई खुला दिसा मुक्त नगरपालिका घोषणा गरिने जानकारी दिए । नगरपालिकाको ९, १०, ११, १२ नम्बर वडा अन्तिम चरणमा पुगिसकेको बताएका छन् । आर्थिक रुपमा कमजोर भएकाहरुलाई चर्पी बनाउन सहयोग गरेर भए पनि अभियान सफल पर्ने उनको भनाई छ ।
     खानेपानी सरसफाई डिभिजन कार्यालयका सरसफाई प्राविधिक विरेन्द्र पण्डितले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सुरक्षा टोलीका संयोजक तिर्थ गौतमले निजगढमा खानेपानीको समस्याको प्रभावकारी रुपमा समाधान गर्दै सरसफाई र खुला दिसा मुक्त नगर बनाउन योजनाबद्ध रुपमा लाग्ने बताए । उनले सबैले हातेमालो गरेमा अवश्य सफल हुने धारणा राखेका थिए ।
कार्यक्रममा समितिका खड्ग प्रसाद उप्रेती, रिता भण्डारी, सम्झना थापा,  वातावरण र जनस्वास्थ्य संस्थाका जिल्ला संयोजक जिवेन्द्र घिमिरे, निजगढ नगरपालिकाका योजना शाखा प्रमुख नविन खनाल लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top