0


निजगढसमाचार, निजगढ १ मंसिर
बाराको निजगढमा पञ्चेबाजा बजाएर छठीमाईको पुजामा सहभागि भईरहेका छन् । लोकआस्थाको महापर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाई अर्घ दिन निजगढस्थित बकैया नदीमा पुग्ने क्रममा पञ्चेबाजाको प्रयोग गरिएको छ ।
यहाँ बसोबास गर्दै आएका मधेसी, थारु सहित केही पहाडी समुदायका बकैया तयार पारिएको छठ घाट जाने क्रम चलिरहेको छ । छठ मिथिला तथा तराईवासीहरुको सबैभन्दा ठूलो र पवित्र पर्व हो ।
परिवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन् । निकै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।   छठ पूजाको लागी जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिँगारिएको छ ।
झिलीमिली बत्तिले दुलही झै सजाइएको बकैया छठ घाटमा यतिखेर व्रतालु तथा दर्शनार्थीहरुको भिड लागिरहेको छ । छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने ब्रतालुहरुको तयारी छ ।
संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्यदेव)लाई विधिपूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको आज तेश्रो दिन सूर्य भक्तिमा लीन भएर पूजाआजा गर्दै साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक यो पर्व सकिनेछ ।
३६ घण्टा लामो निर्जल व्रत शुरु
हिजो बेलुका माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । हिजो बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान सूर्यलाई अर्घ दिएपछि मात्र अन्न र जल ग्रहण गर्नेछन् ।
लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन् । नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ ।
तराईमा सबैभन्दा बढी श्रद्धा भक्तिका साथ मनाइने भएकाले यो पर्वलाई महापर्व पनि भनिन्छ । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ती हुने र परीवारमा सुख शान्ति छाउने विश्वास छ ।

Post a Comment

 
Top