0
निजगढसमाचार, निजगढ, ५ जेठ
सरकारले अघि बढाएको राष्ट्रिय गौरबको आयोजनाको विषयमा गर्न लागेको कार्यक्रममा माओवादी पार्टीका सांसद्लाई जानकारी नै नगराएको खुलासा भएको छ । 
     बाराका निजगढमा २ नम्बर प्रदेशको विकासमा केन्द्रित भएर सांसदहरुले छलफल गर्ने भनिएको विशेष छलफलमा बारा र रौतहटका माओवादी सासंदले आफुहरुलाई जानकारी नभएको बताएका हुन् ।
बारा, पर्सा र रौतहट लगायत २ नम्बर प्रदेशमा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालनका बिषयमा सरकारले बास्ता नगरेको बेलामा चुपचाप बसेका बारा क्षेत्र नं. ६ का एमाले सांसद पुरुषोत्तम पौडेलले गठन गरेको संसदीय सरोकार समितिको आयोजनामा आगामी सोमबार अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, हुलाकी मार्ग, बिशेष आर्थिक क्षेत्र सेज, रेलमार्ग, कृषि, पर्यटन लगायत क्षेत्रको विकासका विविध विषयमा छलफल गर्ने तयारी गरेका छन् ।
      संसदको अन्र्तराष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापति समेत रहेका नेकपा माओवादी केन्द्रका रौतहटका सासंद प्रभु साहले आफुलाई कार्यक्रमबारे जानकारी नभएको बताए । ‘काम धेरै अघि बढेको अवस्थामा जस लिने उद्देश्यले सांसद पौडेलले कार्यक्रम राखेको हुन सक्छ,’ सभापति साहले भने–विकास निर्माणमा राजनीति गर्ने काम भएको छ ।
     त्यस्तै नेकपा माओवादी केन्द्रका बाराका सभासद दिलमाया धामीले कार्यक्रम राख्नु राम्रो भए पनि जानकारी नै नगराई सहभागि हुने भनेर प्रचार गरिनु गलत भएको बताए । अर्की सासंद डा. उषाकिरण अन्सारीले कार्यक्रम हुदैँछ भन्ने जानकारी गराए पनि कार्यक्रमका विषयमा छलफल नै नगरि कार्यक्रम गरिन लागेको बताईन् ।
     पौडेलले बारा, पर्सा, रौतहट देखि महोत्तरी जिल्लासम्मका सांसदहरुसंग छलफल गरेर कार्यक्रम तय गरेको बताए पनि सांसदहरुले भने अनविज्ञता जनाएका छन्।
   बाराका निजगढ सहित गढीमाई, कोल्बी नगरपालिकाका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रमुखलगायत सरोकारवालाहरुको सहभागिता रहने बताईएको छ । कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं रौतहट १ का सांसद माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा गराउने तयारी पौडेलले गरेका छन् ।

Post a Comment

 
Top