निजगढसमाचार, निजगढ, ५ साउन
कलाकार, खेलकर्मी एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले पर्सा वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको अधिक सम्भावना रहेको यस क्षेत्रको विकास, विस्तार प्रचारप्रसार गर्न अब ढिलाइ गर्न नहुने बताएका छन् ।
विभिन्न सरोकारवाला सम्मेलित अध्ययन, अवलोकंन भ्रमणको नेतृत्व गर्दै पुगेका लामाले सञ्चारकर्मीलाई भने–यहाँ पर्यटकीय सम्भावना अधिक छ । पहिले राज्यले निजी क्षेत्र भित्रने र लगानी गर्न सक्ने नीति, वातावरण निर्माण गर्नुपर्छ ।’ पर्यटनको विकासका लागि प्रचार–प्रसारको कमी देखिएको लामाको भनाई छ ।
होटल व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहनप्रसाद शर्माले निजी लगानी भित्र्याउन राज्यले नीति, वातारण बनाए लगानीकर्ताहरूले होमस्टे, होटल, लजलगायत सुविधायुक्त सेवा दिन तयार रहेको बताए । अब सबै मिलेर यसको विकास नगर्ने हो भने माल पाएर चाल नपाएको झैं हुने अध्यक्ष शर्माको भनाइ थियो ।
पर्यटकीय विकास, विस्तारका लागि आरक्ष क्षेत्रसँगै ऐतिहासिक, पर्यटकीय क्षेत्र सिमौनगढ, गढीमाई मन्दिर, बारागढीलगायत अन्यान्य क्षेत्रलाई समेट्न सकिने र रोजगारको अवसर सिर्जना हुने भ्रमण टोलीमा रहेका अधिकांशको धारणा छ ।
टोलीमा नेकपा माओवादी केन्द्रका पूर्व सभासद् जयराम दाहाल, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य क्षेत्रबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यद्धय राजन पौडेल र रविराज दंगाल, होटल व्यवसायी सङ्घ बाराका पदाधिकारी, बुद्धिजीवी, बारा–पर्साका सञ्चारकर्मी लगायतको एक टोलीले मंगलवार दिनभरि भ्रमण गरेको थियो । टोलीले रामभौरी भाटा, हलखोरिया दह, दुग्धेश्वर महादेव मन्दिर लगायत ठाँउको अवलोकन गरेको थियो ।
पर्सा वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाहय पर्यटनको अधिक सम्भावना रहे पनि पर्यटकीय क्षेत्रतर्फ अग्रसर नहुँदा बारा आधाभारस्थित पर्सा वन्यजन्तु आरक्ष वर्षोदेखि आरक्षमैं सीमित छ ।
बारा, पर्सा, मकवानपुर र चितवनका केही भूभाग समेटी ४९९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस आरक्षको १२८ वर्ग किलोमिटर थप क्षेत्र विस्तार गरी हाल ६२७ वर्ग किलोमिटर क्षेत्रफल पुगेको छ ।
रैथानी जंगली हात्तीको मुख्य वासस्थान भए पनि यहाँ पाटे बाघ, चरी बाघ, भालु, हरिण, मृग, नीलगाई, चित्तल, घोरल, बँदेल, सुन गोहोरो, अजिंगर, सर्प, कछुवा पक्षीमा मयुर, सुनचरा, रानी चरो, मैना, सुगा, वन कुखुरालगायत विश्वमा लोपन्मुख सूचीमा परेका सालक, गौरीगाई, पुड्के बँदेल लगायत जड्डली जनावर तथा पक्षीहरू पाइने आरक्ष कार्यालयले जानकारी दिएको छ । भ्रमण अघि कार्यालयमा आयोजित अन्र्तकृया कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
आरक्षको क्षेत्रभित्र प्राकृतिक सम्पदामा विश्वको कान्छो पहाड चुरे श्रृङ्खला, प्राकृतिक सम्पदा चारकोसें झाडीलगायत रहेका छन् । यस आरक्ष भित्र ऐतिहासिक कामिनी दह, हलखोरिया दह, दुग्धेश्वर महादेवलगायत धार्मिक तथा ऐतिहासिक स्थलहरू छन् ।
राजमार्गदेखि करिब ६ किलोमिटर पश्चिम–उत्तर आरक्ष वन क्षेत्रभित्र रहेको कामिनी दह, हलखोरिया दहमा सुख्खायाममा जनावर पानी पिउन आउने गर्छन् । क्षेत्र विस्तारपछि अहिले हलखोरिया दह आसपास गैडा देखा परेको वार्डेन रेग्मी बताउँछन् ।
कामिनी दहमा जंगली जनावर पानी पिउन आउने र पशुपक्षीलाई सजिलो गरी देख्न सकिने करिब २५ फिट अग्लो २ वटा काठे मचानसमेत निर्माण भएको छ ।
वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०४१ सालमा स्थापना गरिएको यस आरक्षलाई आरक्षमैं मात्र सीमित नराखी पर्यटकीय क्षेत्रसमेत बनाउनुपर्ने यस अघिदेखि नैं विज्ञहरूले बताउँदै आएका छन् । आरक्षकै वन क्षेत्रको गस्ती गर्न २०५३ सालमा बारा अमलेखगंजमा हात्तीसारसमेत स्थापना गरिएको छ ।
उक्त आरक्षमा एक दर्जन हाराहारीमा बाघ, आधा दर्जन हाराहारीमा गैडा र ५० भन्दा बढी हात्ती छन् । नेपाली सेना र आरक्षको टोली संयुक्त गस्ती गर्ने गर्छन् । आरक्षलाई हाल श्री तारादल गणले सुरक्षा दिंदै आएको छ । जस अन्र्तगत निर्मलबस्ती, गडुवालाइन, चारभैया, महादेव स्थान, आधाभार, शिकारीवास, रामभौरीभाटालगायत स्थानमा सुरक्षा पोस्ट खडा गरिएको छ भने विस्तारित क्षेत्रको पसाहा, निजगढ, रतनपुरीमा पनि पोस्ट निर्माण अन्तिम चरणमा पुगेको पर्सा वन्यजन्तु आरक्ष कार्यालय बारा आधाभारका प्रमुख वार्डेन एंव संरक्षण अधिकृत युवराज रेग्मीले बताए । पैदल गस्ती, साइकल गस्ती, गाडी गस्ती र हात्तीद्वारासमेत गस्ती गर्ने गरेको वार्डेन रेग्मी बताउँछन् ।
जंगली हात्तीको प्रमुख वासस्थान रहेको यस आरक्षलाई पर्यटकीय क्षेत्रतर्फ विकास–विस्तार गर्न सके पर्यटकहरूको चहलपहल बाक्लिने, रोजगारको अवसर सिर्जना भई राष्ट्रको आम्दानी–स्रोतसमेत थपिने छ ।
Post a Comment
Post a Comment