0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका ४ मा  ढुङ्गाको मुर्ति र केही सिक्का भेटिएपछि दर्शानार्थीको घुइचो लागेको छ ।
स्थानीय १९ बर्षिय युवक सुभाष बुढाथोकीले सपनीमा सर्पले आएर मुर्ति भएको बताएपछि खन्ने क्रममा घर नजिकै ४ फिट तल जमिन भित्र  मुर्ति फेला परेको प्रचार भएपछि हेर्नेको घुईचो लागेको हो ।
जमिन मुनि मुर्ति फेलाको प्रचार भएपछि उक्त स्थानमा अहिले पुजापाठ र दर्शनको लागि दैनिक सयौं सर्वसाधाण र भक्तजनको भिड लाग्न थालेको छ ।
करिव ३ फिट लामो र २ फिट चौडाईको सो मुर्तिको चारैतर्फ बह्मा, विष्णु, लक्ष्मी लगायत दुई दर्जन भन्दा बढी देवी देवताका आकृति कुदिएका छन् । बुढाथोकीले सोही स्थानमा पुराना ४ वटा सिक्का फेला पारेको दाबी गरेका छन् ।
दुई बर्ष अघिदेखि घरमा पुजा पाठ, ध्यान र हात हेर्ने काम समेत गर्दै आएका बुढाथोकीले मुर्ति र सिक्काको परीक्षण र थप उत्खननको व्यवस्था मिलाई दिन स्थानीयसंग माग पनि गरेका छन् । उनले सो स्थानमा देवी देवताका थप मुर्ति र पुराना सिक्का र गरगहना समेत रहेको हुन सक्ने अनुमान गरेका छन् ।
‘मध्ये राति निन्द्रामा थिए, बुढाथोकीले  भने, नाग देवता आए र मेरो आशन छ, बस्ने प्रवन्ध मिलाइदिनु  भनेपछि खनेर हेर्दा जमिन मुनि मुर्ति देखियो ।’ उनले भने–अघिल्लो दिउसो सोही स्थानमा आएर बसेको सर्पलाई छिमेकी समेत मिलेर धपाउदा समेत भागेन् ।
स्थानीय कृष्ण तिमल्सिनाले सपनाको भरमा खन्दा मुर्ति फेला परेको घटना आश्चर्यजनक भएको बताए । उनले उक्त स्थानमा पहिले कुनै समयमा मन्दिर रहेको हुनसक्ने पनि बताए । बुढाथोकीको अनुरोधमा गाउलेहरु मिलेर थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रशासन कार्यायल मार्फत पुरातत्व विभागमा संपर्क गरी परिक्षण र उत्खनन प्रयास भैरहेको तिमल्सिनाले जानकारी दिए ।
इप्रका निजगढमा प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिनाले पुरातत्व विभागका कर्मचारीसंग सम्पर्क गर्दा जिल्ला प्रशासन कार्यालयबाट सिफारिस पत्र लिएर आए कार्यालयले मुर्ति र सिक्काको परीक्षण गरिदिने जानकारी दिएको र सोही आधारमा आफुले जिप्रकामा पत्राचार गरिसकेको पनि बताए । निरीक्षक तिमल्सिनाले विभागका कर्मचारीले फेला परेको मुर्ति र अन्य सामाग्री सुरक्षित राख्न आफुलाई निर्देशन दिएको पनि बताए ।

Post a Comment

 
Top