0
निजगढसमाचार, निजगढ
बाराको निजगढमा पहिलो पटक शहीद हिरालाल गौतमलाई संयुक्त राजनीतिक दलका नेताहरुले एउटै मञ्चमा स्मृती सभा आयोजना गरेर सम्झेका छन् ।
संयुक्त राजनीतिक दल निजगढको आयोजना तथा निजगढसमाचार साप्ताहिकको सहयोगमा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का महानशहीद बारा निजगढ–५ बागदेवका हिरालाल गौतमको १० औं स्मृती सभा शनिबार शहीद चोकमा आयोजना भएको थियो ।
सभामा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, संघीय समाजवादी फोरम, राप्रपा, नेकपा क्रान्तिकारी माओवादी, माले, राष्ट्रिय मधेस समाजवादी पार्टीले संयुक्त रुपमा स्मृती सभाको आयोजना गरेका हुन् ।
जन आन्दोलन–२ को क्रममा २०६३ बैशाख ४ गते बाराको निजगढमा भएको बृहद् प्रदर्शनको क्रममा तत्कालिन शाही सरकारको निर्देशनमा सेनाको गोली प्रहारबाट गौतमले शहादत प्राप्त गरेका स्मृतीमा सभा आयोजना गरिएको हो ।
सभामा शहीद परिवार र घाईतेलाई सम्मान गरिएको थियो । शहीद गौतम पत्नी गायत्री गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उनी सहित शहीद पिता खडानन्द गौतम, दाजु शिव गौतम, जनआन्दोलनका घाईते सुदर्शन अर्याल लगायतलाई दोसल्ला सहित सम्मान गरिएको थियो त्यस्तै शहीद गौतमकी तीन वटी छोरीहरु शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सभामा  नेपाली कांग्रेसका निजगढ सभापति महेशी कुंमर, नेकपा एमालेका अमरलाल स्याङ्गतान, थानेश्वर सापकोटा, एनेकपा माओवादीका निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, नेकपा क्रान्तिकारी माओवादीका निजगढ संयोजक संघीय समाजवादी फोरमका बुद्धिमान घिसिङ्ग, नेकपा क्रान्तिकारी माओवादीका निजगढ नगर संयोजक रबिराज दंगाल, राप्रपाका निजगढ नगर संयोजक सन्तबहादुर राउत,  राष्ट्रिय मधेस समाजवादी पार्टीका निजगढ अध्यक्ष मोजहर मन्सुर, निजगढसमाचारका कार्यकारी सम्पादक महेश अधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन शिक्षक धनप्रसाद बजगाईले गरेका थिए ।
प्रतिमामा माल्यार्णपन
निजगढ–५ स्थित शहीद हिरालाल पार्कमा रहेको गौतमको प्रतिमामा स्थानीयले माल्यार्णपन गरेका छन् । शहीद हिरालाल प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठ, सचिव रुपेन्द्र धमला, विभिन्न राजनैतिक दलका नेता–कार्यकर्ता, शहीद परिवार, स्थानीयवासी, सञ्चारकर्मी लगायतले शहीद गौतमलाई सम्झदै टिका, फुलमाला, खादाले सम्मान गरेका थिए ।

Post a Comment

 
Top