0

निजगढसमाचार, सिमरा, २१ फाल्गुन
सहारा क्लब पोखरालाई टाईब्रेकरमा पराजित गर्दै वीरगन्ज युनाइटेड क्लब सिमरामा जारी रुस्लान सातौ सिमरा गोल्डकपको सेमिफाईलनमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शुक्रवार भएको खेलमा सहारालाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै वीरगन्जले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी खेलेका दुबै टिमले अतिरिक्त ३० मिनेटमा पनि गोल गर्न नसकेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो ।
टाईब्रेकरमा वीरगन्जका मनिष घले, सुमिन मैनाली, सन्जोग राई, बिकास राई र कर्ण लिम्बुले गरे । सहाराका सुसन गुरुङ, पाल्साङ लामा, कप्तान उत्तम गुरुङ, गोलरक्षक सुजित गुरुङले मात्र बललाई जाली चुमाए । सहाराका कृष्ण शाक्यले प्रहार गरेको बल म्यान अफ दि म्याच घोषित वीरगन्जका गोलरक्षक किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।
यसअघि खेलको १३ औं मिनेटमा सहाराले खेलमा अग्रता लिएको थियो । कृष्णा शाक्यको क्रस बललाई सदुपयोग गर्दै सहाराका चतुर्धन चौधरीले टिमलाई अग्रता दिलाएका थिए । उत्कृष्ट तालमेलमा देखिएपनि अवसरको सदुपयोग गर्न नसकेको वीरगन्जबिरुद्ध सहाराको अग्रता पहिलो हाफमा कायमै रहयो । वीरगन्जका अधिकांश प्रयास सहाराले असफल तुल्याएको थियो ।
दोस्रो हाफमा पनि उत्कृष्ट लयमा देखिएको वीरगन्जले खेलको ७६ औ मिनेटमा बराबरी गोल फर्कायो । सहाराका बिदेशी खेलाडी लवलले वीरगन्जका सानुका लिम्बुलाई लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै वीरगन्जले बराबरी गोल फर्काएको हो । वीरगन्जका कप्तान प्रवेश कटुवालले प्रहार गरेको फ्रिकिक बललाई कर्ण लिम्बुले जाली चुमाएका थिए ।
वीरगन्ज खेलमा फर्किएलगत्तै दोस्रो हाफ निकै रोमाञ्चक बन्न पुगेको थियो । घरेलु दर्शकको समर्थन पाएको वीरगन्जले दोस्रो हाफमा थुप्रै अवसर खेर फाल्दा सहाराले गोल गर्ने केही अवसर गुमाउन पुगेको थियो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो ।
सहारालाई टाईब्रेकरमै पन्छाएको वीरगन्ज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । जितपछि वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले निर्धारित समयमै पाएको थुप्रै अवसर खेल फाल्दा अघिल्लो चरणमा पुग्न निकै संघर्ष गर्नुपरेको बताए । सहाराको तुलनमा टिमको प्रदर्शन राम्रो रहेको भन्दै उनले फिनिसिङ पक्ष कमजोर रहेको बताए ।
खेलको सुरुवातमै अग्रता लिएपनि नजिता वीरगन्जलाई सुम्पिएको सहाराका प्रशिक्षक किरण श्रेष्ठ टिमको प्रदर्शनबाट असन्तुष्ट देखिए । अग्रता पाएको खेललाई नियन्त्रणमा राख्न नसक्नु र केही राम्रा अवसर चुकाउनु आफूहरुका लागि दुर्भाग्य बन्न पुगेको श्रेष्ठले बताए ।
प्रतियोगितामा बाई पाएको वीरगन्जले अब फाईलन प्रवेशका लागि बिहिवार लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्र्तगत शनिवार सरस्वती युथ क्लब हेटौडा र वीजय युथ क्लब हेटौडाबिच खेल हुनेछ ।

Post a Comment

 
Top