0
सगरमाथा बचत तथा ऋण सहकारी संस्था कसरी स्थापना भयो ?
– निजगढको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले २०५७ साल कार्तिक २४ गते यहा“का शिक्षक, बुद्धिजिवि, ब्यापारी, सिमान्तकृत किसान, मजदुर जनजातिको अगुवाईमा संस्था स्थापना भयो । त्यसबेला हामी २७ जना साथीहरुले ११ हजार चुक्ता पूँजी जम्मा गरेर डिभिजन सहकारी कार्यालय मा दर्ता गराएका     थियौं ।
तपाईले नेतृत्व गरेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले कस्ता कस्ता काम गरिरहेका छ ?  
– हाम्रो संस्था स्थापना भएको १६ वर्ष लाग्दैछ । यस अवधिमा संस्थाले आर्थिक गतिविधिका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न सामाजिक तथा सास्कृतिक कार्यक्रम गर्दै आएका छौं । हामीले हाम्रो कार्यक्षेत्रमा रहनु भएका विभिन्न पेशा, ब्यवसायमा संलग्न आम नागरिकहरु प्रति पनि जिम्मेवारी बोध गरेर सामाजिक कार्यक्रम गरिरहेका छौं । सहकारी सम्बन्धि चेतना अभिबृद्धि गर्ने कार्यक्रमम गरेका छौं । बचत गर्ने बानीको विकास गराई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिरहेका छौं । सहकारी शिविर मार्फत पनि ती समुदायलाई सहकारी अभियानमा सहभागि गराएका छौं ।
त्यस्तै सहकारी मार्फत शैक्षिक क्षेत्रमा समेत सेवा गरिरहेका    छौं । बालबालिकाको ब्यक्तित्व र नेतृत्व विकास गराउने उद्देश्यले विभिन्न तालिम संचालन गरिरहेका छौं भने आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति सहयोग गरिरहेका छौं ।
संस्थाको आयोजनामा बर्षेनी  रक्तदान कार्यक्रम गरेर रक्त संकलन गरिहेका छौं । महाविपत्तको बेलामा पनि हामीले आफ्नो सामाजिक उत्तरदायित्व भुलेका छैनौं । भुकम्प पीडितका लागि राहत वितरण कार्यक्रम ग¥यौं । त्यस्तै हाम्रा मृतक सदस्य परिवारको कर्जामा मिनाहा पनि गर्दै आएका छौं ।
हाम्रै संस्थाको सहसंयोजकको भूमिकामा सिमरामा राष्ट्रिय सहकारी बैंक स्थापना भयो । त्यस्तै यसै संस्थाले बारा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको नेतृत्व समेत गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको विषयगत संघ बचत तथा ऋण संघ गठन गरि प्रारम्भमा उपाध्यक्ष र अहिले अध्यक्षको भुमिका मैले जिम्मेवारी पूर्वक निभाईरहेको छु ।
सहकारीले आर्थिक विकासमा कस्तो भुमिका खेलेको छ ? 
– हरेक वर्ष हाम्रा करि नौं सय सदस्यहरुमाँझ आर्थिक करोबार गरेर आर्थिक विकासमा भुमिका खेलिरहेको छ । हामीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएका छौं । आर्थिक उपार्जन मार्फत आर्थिक उन्नती गरेका छन् ।
बेरोजगार भएर बसेका र केही ब्यापार ब्यवसाय गरौं भन्दा पूँजी नभएका युवा लक्षित कर्जा प्रवाह गरेका छौं । त्यस्ता सयौं युवाहरुलाई देशभित्रै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सफल भएका छौं ।
एफ स्कील संग समन्वय र सहकार्य गरेर आफ्ना सदस्यलाई विभिन्न तालिममा सहभागि गराएका छौं । हामीले हेयर कटिङग, इब्रोडरी, विद्युत वायरिंङ जस्ता स्वरोजगार मुलक तालिम प्रदान गरेका छौं । त्यस्तै नेपाल सरकार युवा स्वरोजगार कोषबाट थोक कर्जा लिई विदेश पलायन हुन चाहने युवालाई स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भनेर युवा स्वरोजगार कर्जा प्रवाह गरेका छौं । आर्थिक सम्पन्नतासंगै राम्रो घर सबैको रहर हुन्छ । हामीले घरजग्गामा पनि लगानी गरिहरका छौं । यातायात साधन लागानी गरेर जीवनस्तर उकास्ने काम गरेका छौं ।
डेढ दशक लामो अवधिमा सदस्यहरुको आर्थिक विकास भएको कुरा गर्नुभयो संस्थाको आर्थिक अवस्था र संस्थाको संरचना चाहि कस्तो छ ?
तीन सय ६५ महिला, चार सय ८४ पुरुष गरि आठ सय ४९ सदस्यका ८३ लाख ९० हजार चार सय शेयर पूँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७१/०७२ को अवधिमा आफ्ना दुई सय ६८ सदस्यमा तीन करोड १५ लाख १४ हजार सात सय ३६ रुपैया कर्जा लगानी गरि ४९ लाख १० हजार दुई सय ७५ रुपैया आम्दानी गरेको     छ । यस अवधिमा ४० लाख २० हजार ६९ रुपैया खर्च गरि नौं लाख आठ हजार दुई सय ४६ रुपैया खुद मुनाफा गरेको छ ।
संस्था आफ्नै भवनमा संचालन हुनु पनि संस्थाको प्रगति नै   हो । पौने १३ धुर जमिनमा दुई तल्ले पक्की भवन निर्माण गरि विगत पाँच वर्षदेखि त्यस भवनबाट सेवा दिईरहेका छौं भने संस्थाको विभिन्न कोषमा २९ लाख ५५ हजार छ सय ८४ रुपैया रकम रहेको छ भने ४८ लाख ४९ हजार नौं सय स्थिर सम्पति जोड्न सफल भएका छौं । हाल पाँच करोडको कारोबार गरि सदस्यहरुमाँझ  भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दै आएका छौं ।
संस्थाले बचत परिचालन र कर्जा लगानीको लागि कस्ता विधि र प्रकृया अपनाउदै आएको छ  ?
– यस संस्थाले आफ्ना सदस्यहरुमा बचत गर्ने बानीको विकास गराई नियमित बचतमा जोड दिएको छ । संस्थामा प्रत्येक सदस्यले नियमित रुपमा अनिर्वाय र ऐच्छिक बचत दुई किसिमको बचत अनिवार्य रुपले नै गर्नुपर्छ भने कर्जा माग गर्दा लगानी नीतिमा ब्यवस्था भए अनुसार कर्जा माग गरेको मितिले ढिलोमा तीन दिन भित्र कर्जा लगानी गर्ने गरिन्छ ।
सहकारीहरुले बचतमा दिने ब्याज कम र कर्जामा लिने ब्याज चर्को हुने गरेको गुनासो सुनिदै आएको छ । तपाईको संस्थामा बचत र कर्जामा  लिने ब्याजदर कस्तो छ ?
– यस संस्थाले सहकारी मापदण्ड र ऐन–नियममा ब्यवस्था भए अनुसारकै न्यूनतम फरक रकम (पाँच प्रतिशत) मात्र मुनाफा लिदै आएको छ ।
आफ्ना सदस्यहरुको माग अनुसार आवधिक बचत, अनिवार्य बचत, ऐच्छिक बचत, बाल बचत, तीज बचत, जेष्ठ नागरिक बचतमा औषत ११ प्रतिशत ब्याजदर  र  कर्जा लगानीमा १६ प्रतिशत औषत ब्याजदर रहेको छ ।
संस्थालाई अझैं सेवामुलक र गुणस्तरिय सेवा दिन के–के गर्दै हुनुहुन्छ ?
– हाम्रो संस्था निजगढको अग्रणी संस्था हो । हामीले दिईरहेका सेवाप्रति हाम्रा सेवाग्राही सन्तुष्ट छन् । हाम्रा कर्मचारीहरु पनि उत्साहका साथ सहज र सुलभ सेवा दिन अहोरात्र खटिरहेका छन् । अब त्यतिले मात्रै पुग्दैन भन्ने हाम्रो बुझाई भएकाले समय सुहाउँदो सेवा प्रवाह गर्न त्रीवर्षिय रणनीतिक योजना तयार गरि प्रकृया अगाडी बढाएका छौं ।
प्रतिस्पर्धाको बजारमा खरो रुपमा प्रस्तुत हुन संस्थालाई समयको माग अनुसार संचालन गर्न हामीले एक्सेस ब्राण्ड स्तर पुग्ने तयारी गरिरहेका छौं ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. ले प्रवद्धन गरेको Probation Programme मा सहभागि भई राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न गत वर्ष देखि त्यसका लागि हामी तालिममा छौं । Probation Programme तालिम पश्चात एक्सेस ब्राण्ड प्राप्त गर्न लिनु पर्ने तालिममा समेत सहभागि हुने हाम्रो लक्ष्य छ । त्यस्तै संचालकहरुको क्षमता विकास तालिम, सदस्यहरुमा सहकारिता सम्बन्धि चेतना र अनिवार्य सहकारी शिक्षा कार्यक्रम समेत संचालन गरिरहेका छौं ।
तपाई बारा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष समेत हुनुहुन्छ । सहकारी अभियानलाई कसरी लिईरहुन भएको छ । भर्खरै मात्र घोषणा भएको नेपालको संविधान २०७२ मा समेत देशको आर्थिक नीतिको तीन आधार स्तम्भ मध्ये सहकारीलाई समेत उल्लेख गरेको छ । सरकारले सहकारी मन्त्रालयको समेत ब्यवस्था गरेको छ । यसलाई कसरी लिनु भएको छ ?  
बारा जिल्ला सहकारी अभियानको उर्भर भुमीको रुपमा लिन सकिन्छ । सहकारी अभियान दु्रत रुपमा अघि बढ्नु असाध्यै राम्रो कुरा हो तर अहिले संख्या भन्दा पनि गुणस्तरको कुरा प्राथमिकतामा पर्न थालेका छन् । त्यसैले हाम्रो अबको प्राथमिकता भनेको संख्या बढाउने नभई सहकारी–सहकारी विचमा मर्ज गर्ने अभियान तर्फ नै हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
जहाँ सम्म संविधानमा नै अर्थतन्त्रको तीन आधार स्तम्भ मध्ये एक आधार स्तम्भ भनेर प्रष्ट रुपमा सहकारी क्षेत्रलाई पनि उल्लेख गर्ने कुरा निकै सुखद् कुरा हो । यो स्वागत योग्य छ । यसले हामी सहकारी अभियानमा लागेकाहरुलाई थप उत्साह थपेको छ । नेपाल सरकारले विगत दुई वर्षदेखि सहकारी तथा गरिवी निवारण मन्त्रालय गठन गरि सोही मन्त्रालय मार्फत नेपालका प्रत्येक गाँउ गाँउमा सहकारी संस्था मार्फत स्थानीय जनताको आर्थिक, सामाजिक रुपान्तरणमा भूमिका खेल्ने नीति त लियो तर आवश्यक बजेट भने अझैं विनियोजन गरेको देखिदैन् । 
केही मात्र बजेट ब्यवस्था गरेकाले सहकारी मार्फत आयत प्रतिस्थापन  र सामाजिक न्यायका लागि सहकारी भन्ने मुल नारालाई सार्थक रुप दिन नसकिरहेको अवस्थामा यस तर्फ सरकारको ध्यान जानु जरुरी ठान्दछु । साथै सहकारी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा अत्यधिक अर्थात २० प्रतिशत आय कर लगाउनु सरासर गलत रहेकाले यसमा करछुट र समय सापेक्ष सहकारी ऐन–नियममा संशोधनको आवश्यकता भएकाले त्यस तर्फ सरकारले ध्यान दिनु पर्ने देख्दछु ।
अन्त्यमा निजगढ समाचार मार्फत सहकारी अभियानकर्मीहरुलाई के भन्न चाहानु हुन्छ  ?
अन्त्यमा बारा जिल्लाको सहकारी आन्दोलनलाई नेपालको राष्ट्रिय सहकारी आन्दोलन संग जोड्न भुमिका खेलिरहेको बारा बचत संघको अध्यक्षको हैसियतले पनि सगरमाथा साकोसलाई मात्र नभएर यस संघमा आवद्ध एक सय ५५ सदस्य संस्था र अन्य आवद्ध हुन बाँकी एक सय २५ साकोसहरुको समेत सक्षमता विकास गरि सदस्यहरुमा पु¥याउने सेवालाई सरल र सबल पु¥याउन पर्ने कुरामा कुनै दुई मत छैन् । संघारमा आएको शुभ दिपावली तथा छठ पर्व र ल्होसार पर्वको अवसरमा सम्पूर्ण सदस्यहरु,निजगढवासी र तपाईहरुको पत्रिकाको टिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Post a Comment

 
Top