0
तेल नपाउदा उपचारमा ढिलाई
निजगढ समाचार, निजगढ, २६ कात्तिक
गएराती निधन भएका एकिकृत नेकपा माओवादी निजगढ नगर समिति सदस्य टुक बहादुर स्याङतानको आज साँझ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । निजगढ–७ धियाल टोलका ५३ स्याङतानको हृदयघात भई गएराती निधन भएको थियो । एमाओवादी क्षेत्र नं. ६ का संयोजक धन बहादुर श्रेष्ठले माओवादीको झण्डा ओढाएर सम्मान गरेका थिए । शोक सभामा स्व. स्याङतानको पार्थिव शरिरमा एमाओवादी निजगढ नगर समिति अध्यक्ष बेनी बहादुर मुक्तान, एमाओवादीका महिला नेतृ शिला खनाल, नेकपा–माओवादी निजगढ नगर अध्यक्ष रबिराज दंगाल, अन्र्तपार्टी महिला संजाल निजगढकी अध्यक्ष अरुणा विक,एकल महिला सञ्जालकी जीरीमाया बल, एमाओवादी रतनपुरकी जोशीमाया बल, नेकपा एमाले युवा संघका भिमसेन सापकोटा लगायत नेता कार्यकर्ताले फूलमालासहित श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
स्याङतानको पार्थिक शरिरको आजै धार्मिक विधि अनुसार अन्टेष्टि गरिएको छ । उनको दुई छोरा र दुई छोरी र एक श्रीमती छन् ।
तेल नपाउदा उपचारमा ढिलाई
स्याङतानको हृदयघात भई उपचारका लागि चद्रनिगाहापुर स्थित अस्पतालमा लैजादै गर्दा बाटोमा नै निधन भएको थियो । डिजेल नपाएर एम्बुलेन्सले समयमा नै अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतक स्याङतान परिवारको गुनासो छ । निजगढ–८ स्थित बिनायक आयल स्टोर्समा विरामी लिएर पुगेको एम्बुलेन्सले तेल नपाएपछि ईलाका प्रहरी कार्यालयको सिफारिस पछि तेल भरेर लैजादा अस्पताल पुग्न ढिलो भएका कारण बचाउन नसकिएको स्याङतान परिवारको गुनासो छ ।
‘रातको समयमा तेल भर्न अप्ठेरो हुन्छ सिफारिस गरिदिनु भनेपछि मैले पेट्रोलपम्पमा खबर गरेको हुँ,’ प्रहरी निरीक्षक रामप्रसाद गौतमले भने ।

Post a Comment

 
Top