0
नेपालमा कृषिमा आधुनिकरण बहस चर्चा हुन थालेको पनि बर्षौ भईसक्यो । आधुनिक उपकरणको विना गफले मात्र कृषिको आधुनिकीरण सम्भव छैन् ।
नेपाल कृषिप्रधान देश भन्न समेत लाज लाग्ने अवस्था छ । कृषिजन्य उत्पादनमा उल्लेख्य वृद्धि गर्न हुन सकेको छैन् । प्रयाप्त उत्पादन नहुदाँ चामल देखि दाल, तरकारीको लागि पनि छिमेकी मुलुकको भरपर्नु पर्ने अवस्था छ । हामी झन–झन परनिर्भर भईराखेका छौं ।
आर्थिक वृद्धिका लागि कृषि नै बलियो आधार हो । कृषि उत्पादनका लागि उचित हावापानी, माटो र जनशक्ति हुँदा हुँदै पनि नेपालको समृद्धि हुन सकेको छैन । यसको प्रमुख कारण राज्यको अस्पष्ट दृष्टिकोण र अदुरदर्शिता हो । राज्यसँग कृषि क्षेत्रको विकासका लागि कुनै राम्रो योजना नै छैन् । कषि सम्बन्धी नीतिहरुलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ  र भएका नीतिहरु सहि तरिकाले लागु हुनुपर्छ । कृषिमा उत्पादकत्व वृद्धि गर्न कृषि क्षेत्रको तीव्र आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी छ ।
मेसिनरी साधन तथा उपकरणको अधिक प्रयोग, कृषि विशेषज्ञको उत्पादन एंव विकास, किसानहरुलाई आवश्यकता अनुसार तालिम दिएर उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । गत साता डुमरवानामा कृषि मन्त्री हरिबोल गजुरेलले आधुनिक धान रोप्ने मेसिन उद्घाटन गरे । अब गाउँ–गाउँमा यस्ता आधुनिक उपकरण भित्राउन सरकारले विशेष ध्यान पु¥याउनु पर्छ ।
जमिनलाई महत्वपुर्ण उत्पादनको साधनका रुपमा स्थापित गर्दै जमिन बाँझो राख्न नपाइने नीति लागु गर्नुपर्छ । कृषि सहकारीलाई राज्यले उच्च प्राथमिकतामा राख्नु पर्दछ । साना उत्पादनकर्ता र व्यवसायीहरुलाई उत्पादन, वितरण र उपभोक्ता सहकारीहरुमा संगठित भएर गतिविधि गर्न राज्यले विशेष प्रोत्साहन र सहजीकरण
 गर्नुपर्छ । कृषि पेशातर्फ जनतालाई आकर्षित गर्न राज्यले कृषि पेन्सन, कोषको व्यवस्था, किसान परिचयपत्र, न्युन ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट व्यवसायिक खेती, पशुपालन, माछापालन, फलफुल खेतीमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ ।
कृषिमा आधारित उत्पादनमुलक उद्योगका लागि सरकारी, निजी र सार्वजनिक निजी साझेदारी लगानीमा ठुला, मझौला र साना तथा घरेलु उद्योगहरुको विकास गर्ने नीति लिइनुपर्छ । सरकारले निकासीजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।  किसानहरुले आफ्नो जमिनको अवस्था अनुसार कस्तो बीउ प्रयोग गर्दा उपयुक्त हुन्छ भन्नेबारे शिक्षा दिनु आवश्यक छ । विदेशबाट आयात हुने बीउहरु कृषि अनुसन्धान परिषदबाट परीक्षण गराई बिक्री विरतण हुने व्यवस्था मिलाउनुपर्छ । आधुनिक प्रणालीको खोजीमा किसानसँग भएको पारस्परिक सीप र ज्ञान हराउनु हुँदैन । किसानसँग भएको प्रारम्भिक ज्ञान र सीप अभिबृद्धिका लागि आधुनिकीकरण गरिनुपर्छ ।

Post a Comment

 
Top