0
निजगढसमाचार, सिगौंल, बसन्त लामा/निजगढ नगरपालिकास्थित सिगौंल हुँदै धन्सार खोला बग्छ । खोला छेउका स्थानीयले भने ढुङ्गा, गिट्टी, बालुवा ल्याउन पाउँदैनन् । 
नदी कटान भएको ठाउँमा जाली भर्न समेत त्यहाँ ढुङ्गाको अभाव छ भन्दा तपाईलाई पत्यास नलाग्न सक्छ !
तर ढुङ्गाका कारोबारीलाई भने यसको कुनै चिन्ता नै छैन् । उनीहरुले आफुलाई आवश्यक ढुङ्गा मनग्य थुपारेर राखेका छन् । उनीहरुले राष्ट्रपति चुरे संरक्षण क्षेत्रबाट निकालेर निजगढ–१ सिगौंलस्थित टाँसी छ्यौईलिङ्ग गुम्बा नजिकको चौर तस्करहरुको ढुङ्गा थुपार्ने भरपर्दो थलो बनाएका छन् ।
नदीजन्य पदार्थको तस्करीमा राजनीतिककर्मीकै संलग्नता रहेको स्थानीयहरु बताउँछन् । 
स्थानीय ब्यक्ति नै ढुङ्गा तस्करीमा लागेपछि त्यहाँका सर्वसाधारण आक्रोशित बनेका छन् । एक साता अघि आक्रोशित १ नम्बर वडाका स्थानीयबासीन्दाले निषेधित क्षेत्रबाट ढुङ्गा संकलन गरिरहेको ट्याक्टर पक्राउ गरि प्रहरीको जिम्मा लगाएका थिए । 
कृषिमा आश्रित सिगौंलबासी सिचाईका लागि बाध कसरी बाध्ने भन्ने चिन्तामा छन् । स्थानीयले अवैध रुपमा भईरहेको ढुङ्गा तस्करी रोक्न पहल लिएपछि तस्करहरु स्थानीयप्रति खनिएका छन् ।
आफुले थुपारेको ढुङ्गा, गिट्टी, बालुवा रोकेकोले तस्करहरुले सर्वसाधारणले घर बनाउन ढुङ्गा, गिट्टी, बालुवा बोकेका गाँउ आउने ट्याक्टर जलाईदिने धम्कि दिन थालेका छन् ।
तस्करीहरुले मनपरि गर्दा समेत स्थानीय प्रशासन भने मौन बसेको छ । ईलाका प्रहरी कार्यालय निजगढ, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला विकास समितिले कुनै कदम नचालेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

Post a Comment

 
Top