0


निजगढसमाचार, निजगढ २५ माघ । 
 बाराको सिमरामा विहीबार रुस्लान सिमरा  गोल्डकपको ९ औं संस्करण शुरु हुँदैछ । मोफसल चर्चित सिमरा गोल्डकपको उद्घाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल दिउँसो साढे दुई बजे सिमरा रंगशालामा सुरु हुनेछ । हेटौंडा विजय युथ क्लब प्रतियोगिताको सातौं संस्करणको विजेता टिम हो भने आयोजक नव जनजागृति युवा क्लब पाँचौं संस्करणको विजेता हो ।  
प्रतियोगिताको उद्घाटन कलाकार सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमेरे (सुन्तली)ले गर्नेछन् । विजय डिष्टिलरीको मुख्य प्रयोजनमा सञ्चालन हुने गोल्डकपको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाइस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिए ।  
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । टिकटमा लक्की ड्रको व्यवस्था गरी टेलिभिजन र मोबाइल पुरस्कार दिने आयोजकले जनाएको छ ।  यस पटक ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।  
प्रतियोगितामा मनाङ मस्र्याङ्गदी क्लब, रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा तथा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल आर्मी, सुदूरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृति युवा क्लब, विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब गरेर १० टोलीको सहभागिता हुनेछ ।




Post a Comment

 
Top