0
मोरङ्ग फुटवल क्लब र नव जनजागृति भिड्दै 
निजगढसमाचार, निजगढ, २७ माघ । 
मोफसल चर्चित रुस्लान ९ औं सिमरा गोल्डकपमा शनिबारबाट क्वाटर फाईनलको खेल सुरु हुँदैछ । सिमरा रंगशालामा दिउँसो तीन बजे सुरु हुन पहिलो क्वाटरफाईनल खेलमा आयोजक नव जनजागृति युवा क्लब ‘सेतो’ र मोरङ्ग फुटवल क्लब बिराटनगर विच प्रतिस्पर्धा हुनेछ ।
सातौं संस्करणको विजेता हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्र्तरले पाखा लगाउँदै  आयोजक नव जनजागृति युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको हो भने विराटनगर वाई पाएर सिधैं अन्तिम आठमा पुगेको थियो ।
आयोजक नव जनजागृति युवा क्लब पाँचौं संस्करणको विजेता हो भने विराटनगरको सिमरा गोल्डकपमा पहिलो सहभागिता हो । मनाङमस्र्याङदी क्लबले अन्तिम समयमा आएर खेलमा सहभागि नहुने निर्णय गरेपछि आयोजकका दुई वटा टिम प्रतियोगितामा सहभागि भएको थियो । आयोजकको ‘निलो’ टिम शुक्रबारको खेलमा शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लबसंग २–० गोल अन्र्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
विजय डिष्टिलरीको मुख्य प्रयोजनमा सञ्चालन हुने गोल्डकपको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाइस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिए । 
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । टिकटमा लक्की ड्रको व्यवस्था गरी टेलिभिजन र मोबाइल पुरस्कार दिने आयोजकले जनाएको छ ।  यस पटक ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ । 
प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा तथा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल आर्मी, सुदूरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृति युवा क्लब, विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब गरेर १० टोलीको सहभागिता हुनेछ ।

Post a Comment

 
Top