0

निजगढसमाचार, निजगढ, १४ बैशाख
बैज्ञानिक वन ब्यवस्थापनमा निजगढको जनज्योती सामुदायिक वन समुह प्रदेश नं. २ कै पहिलो वन समुह बनेको छ ।
वन स्रोतको दिगो संरक्षण र उपयोगको वैज्ञानिक वन ब्यवस्थापन सुरु गर्ने जनज्योती सामुदायिक वन समुह पहिलो भएको जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत जीवन कुमार ठाकुरले बताए ।
बाराका ५ सामुदायिक र ४ साझेदारी समुहमा यो बर्षबाट वैज्ञानिक वन व्यवस्थापन शुरु गर्न योजनामा रहेको ठाकुरले बताए । जनज्योती सामुदायिक वन क्षेत्रमा बैज्ञानिक वन ब्यवस्थापन अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले निजगढको जनज्योति सहित नागमणी र बकैया ठाकुर मर्जर भएर संयुक्त कार्ययोजना सहित वैज्ञानिक वन ब्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
त्यस्तै रतनपुरीको जनमुखी, भरतगंजसिगौलको जनप्रिय, सिमराको थानीमाई सामुदायिक र तामागढी, सहजनाथ तथा हलखोरिया साझेदारी वनकोे करिव ७ हजार हेक्टर क्षेत्रफलमा साल वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु भएको वन अधिकृत ठाकुरले जानकारी दिए । व्यवस्थापनको लागि वन कार्यालयले समितिमा आवश्यक आर्थिक र प्राविधिक सहयोग पु¥याउदै आएको छ । वन स्रोतको उचित व्यवस्थापन अभावमा उपभोक्ता र राष्ट्रले समेत पर्याप्त लाभ लिन नसकेको गुनासो बढिरहेको बेला जिल्लामा शुरु भएको वैज्ञानिक व्यवस्थापनबाट सरकारी राजश्व र स्थानीयको आय समेत वृद्धि हुने बढ्ने अपेक्षा गरिएको छ ।
वन समुहले कार्यक्रमबारे जानकारी गराउन आयोजित अन्र्तकृया कार्यक्रममा दिगो व्यवस्थापनबाट संरक्षणसंगै वन पैदावारको सहज आपुर्तिको लागि जिल्लाका सामुदायिक र साझेदारीमा वैज्ञानिक व्यवस्थापन शुरु गर्न लागिएको जिल्ला वन अधिकृत जिवन ठाकुरले बताए ।
कार्यक्रममा वन अधिकृत ठाकुरले वन सम्बन्धि लामो अध्ययन र अनुभव संगालेर पनि जागिरको उत्तार्धमा आएर राम्रो कामको थालनी गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
उनले भने–वैज्ञानिक व्यवस्थापनपछि वन क्षेत्रको अवस्थामा सुधार आएर वातावरण संवद्र्धन र स्थानीयको आय आर्जनमा समेत मद्दत गर्छ ।
अधिकृत ठाकुरले वैज्ञानिक व्यवस्थापनपछि जिल्लाका ९ वटा वनको ७ हजार हेक्टरबाट मात्रै बार्षिक ४५ हजार क्विफिट साल काठ उत्पादन हुने भएकाले यसले उपभोक्तको आवश्यकता परिपुर्ति र राजश्वमा समेत योगदान पुग्ने जानकारी दिए । उनले वैज्ञानिक व्यवस्थापन गर्न सके तराईको वनबाट राज्यले बार्षिक ३० अरव रुपैया थप राजश्व प्राप्त गर्न सक्ने एक अध्ययनले देखाएको पनि सुनाए ।
कार्यालयको सहयोगमा समुहले पहिलो चरणमा जनज्योतिको ८ उपखण्डमा ८० बर्षभित्र वैज्ञानिक पद्दति अपनाएर व्यवस्थापन गर्दै जाने लक्ष्य बनाएको छ । ‘पालैपालो व्यवस्थापन हुन्छ, रेञ्जर विष्णु केसीले भने, अन्तिम खण्डको व्यवस्थापन पुरा भैसक्दा पहिलो बर्ष शुरु गरिएको क्षेत्रबाट फेरि कटान गरेर अर्को उत्पादन लिन सकिन्छ ।’ उनले एउटा सालको रुख परिपक्क हुन करिव ८० बर्षको समय लाग्ने र हरेक खण्डमा १०÷१० बर्षको अन्तर पारेर पुर्नउत्पादन कटान र व्यवस्थापन गतिविधि संचालन गरिने पनि बताए । केसीले स्रोत सर्भेक्षणबाट जनज्योतिको एउटा खण्डबाट मात्र ५० हजार साल, १० हजार क्विफिट अन्य प्रजाति र १ सय चट्टा दाउरा उत्पादन हुने  देखिएको पनि जानकारी दिए ।
जनज्योति सामुदायिक वनका अध्यक्ष गणेश कार्कीले छनौटमा परेका सालका माउ रुख बाहेक बुढा, पुराना र बाक्ला सबै काटिने र व्यवस्थापन अन्तरगत पुर्नउत्पादन कटानसंगै नया बिरुवा र लाथ्रा पत्ल्याउने तथा झाडी सफा पर्ने र अग्नी पथ निर्माण जस्ता कार्य संचालन गरिने बताए ।
पुर्नउत्पादनको लागि प्रति हेक्टर करिव २ सयका दरले माउ साल रुख संरक्षण गरिने कार्कीले जानकारी दिए । व्यवस्थापन क्रममा उत्पादन भएको काठ बिक्री वितरणबाट समुहमा बार्षिक १ करोड रुपैया आम्दानी हुने र सो रकम वन संरक्षण र उपभोक्ताको आयआर्जनमा खर्चिने पनि उनले सुनाए ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले बैज्ञानिक वन ब्यवस्थापन विना अब दिगो वन ब्यवस्थापन सम्भवन भएको बताए ।
सधैं पुरानै शैलिमा संरक्षण गर्दा त्यसले वनले उचित वातावरण पनि नपाउने र उपभोक्ताले पनि फाईदा लिन सक्ने अवस्था नभएकाले बैज्ञानिक वन ब्यवस्थापन आवश्यक भएको बताए । रुख काटेर पनि वन ब्यवस्थापन हुन्छ र ? भन्ने गलत मानसिकतालाई चिर्दै उचित वन ब्यवस्थापन गर्न सबै सकारात्मक हुनु पर्ने धारणा राखे ।
कार्यक्रममा पत्रकार गोकुल घोरासाईने लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको संचालन हरि बर्तौलाले गरेका थिए ।

Post a Comment

 
Top