0
निजगढसमाचार, काठमाण्डौ, १३ जेठ
राजु प्रकृति/मौलिख कौरा संरक्षण राष्ट्रिय तदर्थ समितिको आयोजनामा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको साथमा मगर समुदायको संस्कृति संरक्षण गर्नका लागि तनहुँको दमौलीमा प्रथम राष्ट्रिय मौलिक कौरा सम्मेलन हुने भएको छ , सो कार्येक्रम  जेष्ठ १५ गते तनहुको दमौलीमा हुनेछ ।
   पछिल्लो समयमा कौरा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौरा सम्मेलन गर्न लागिएको हो । कौरा सम्मेलनमा तनहुँ, स्याङ्गजा, पाल्पा, कास्की, नवलपरासी सहित ७ जिल्लाबाट कौरा टिमको सहभागिता हुने राष्ट्रिय मौलिक कौरा संरक्षण तदर्थ समितिका संयोजक हर्क आलेले जानकारी दिनुभयो । कौरा सम्मेलनमा तरुनी ६ जना, तन्नेरी ८ जना, टोली प्रमुख १ जना सहित मगर मौलिक भेषभूषा, गरगहना, खैजेडी, मुजुरा, झर्रा, झ्यालीको साथमा सहभागि हुनुपर्ने आयोजकले जनाएको छ ।रोदी घरमा तन्नेरीहरुले खैजेडी बजाएर गीत गाउने र तरुनीहरु समुहमा नाँच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ । मौलिक कौरा सम्मेलनमा प्रथम हुनेलाई २५ हजार, द्धितियलाई २० हजार, ततिृयलाई १५ हजार र सन्त्वना लाई ५ हजार प्रदान गरिने छ । गोरखा ,तनहुँ,लम्जुङ्ग ,पाल्पा, कास्की र नवलपरासी जिल्लालाई आधार क्षेत्रको रुपमा राखिएको छ |
   डा.बराल (२०५०ः११५)  का  अनुसार  जितबहादुर पुलामी देउराली ४ नवलपरासी, खेमान सिं पुलामी मगर नवलपरासी, लिलाबहादुर गाहामगर नरम गाविस नवलपरासी, थापा मगर ९२०६३० आदिले आज भन्दा ७६ बर्ष अगाडि देखि नवलपरासी, पाल्पा, गोरखा, मनकामनामा समेत नृत्य प्रचलन भएता पनि मुख्य उत्पत्ति थलो तनहुँ जिल्लाको ऋषिङ्ग, क्षेत्र नै हो भन्ने स्वीकार गरेको पाइन्छ । साँस्कृतिक अगुवा चिरन्जीवी आले काहुँशिवपुर १ का अनुसार ऋषिङ्ग क्षेत्रमा वि।स १९८० तिर नै कौरा नृत्य उत्पत्ति भइसकेको थियो । त्यसैले कौरा नृत्य वि.स १९८० आसपास तनहुँ जिल्लाको दक्षिण ऋषिङ्ग क्षेत्रमा मगर समुदायमा भएको अनुमान गर्न सकिन्छ ।
   कौरा नाचको नामाकरण  डा.बराल अनुसार अविवाहित युवतीलाई मगर भाषामा कडावा भनिने र कडावाबाट कौरा नामाकरण भएको, नवलपरासी क्षेत्रतिर कालीपुर तनहुँमा पानी भर्न कुरुवा बस्दा गाउने गरेकाले कुरुवाबाट कौरा भएको वा कानराहाबाट कौरा भएको व्यक्त गरिए पनि कौंरा प्रचलन अधिकांश क्षेत्रमा कडावा शब्द प्रचलनमा भएको नदेखिएको, कौरा गीत, नृत्य पधेंराबाट, नभई रोदीघरबाट नै भएको यथार्थ समेतले तथा रोदी घरमा प्रवेश गर्दा र गीत सुरु गर्दा पनि । "कानराहा" शब्द प्रयोग हुने भएकाले कानराहा बाट नै कौरा नामाकरण भएको मान्न सकिन्छ । मगर भाषाको कानराहाबाट अपभ्रंश भएर कौरा भएको हो । कानराहा भनेको हामी आयौं भन्ने अर्थ लाग्छ । मगर सँस्कृतिमा धेरै वर्ष पहिले घाँस दाउरा गर्ने बेला कानराहा–कानराहा अर्थात "हामी आयौं" , "हामी आयौं" भन्दै मगर युवा र युवतीले गीत गाउने गर्थे । कौरा गीत माघे संक्रान्तिदेखी असारे पूर्णिमासम्म पर्ने विभिन्न मेला जात्रा पर्वमा नचाइन्छ , यसबाहेक मगर जातिको विवाह, पास्नी, न्वारन, छैटी, छेवार आदिमा पनि नाच्ने गरिन्छ । कौरा गीतमा  माया प्रेम सुखदुख, हर्ष उल्लास ख्यालठट्टा पनि गरिन्छ । गीतबाट सञ्चोबिसञ्चो, चिना परिचय पनि गरिन्छ ।
  मगर सँस्कृतिमा निकै प्रचलित कौरा नृत्यको चार्म भए पनि यसको मौलिकता संरक्षण हुन सकेको छैन । विभिन्न कार्यक्रममा हुने कौरा गीत र नृत्यलाई नमान्ने हो भने कौरा देख्न पाउनु सौभाग्य हो , विशेष गरि पश्चिमाञ्चलका मगर बस्तीमा प्रतलित कौरा सँस्कृति हराउँदै गएकोमा चिन्ता गर्नेहरु बढेका छन् । कौराको असली स्वरुप हराउँदै गए पनि पछिल्लो समय यसले व्यापकता भने पाउँदै गएको छ ।
  सुरुमा तरुनीहरु नितान्त मौलिक मगर भेषभूषामा पनेलको चोलो, घरबुना गुनियो, घरबुना पछ्यौरी, पटुका, घलेक लाउथे पछि रातो मखमली, चोली, गुनियो, पहेंलो वा निलो पटुकी, घलेक, पछ्यौरी, ठिमुरा माला, सिरफुल, सिरबन्दी, ढुग्री, जन्तर, कण्ठ, रैँया, ठोका बाला, चुरी, फुली, बुँलाखी, मडवारी र खुट्टामा झर्रा लगाउने गर्दछ । तन्नेरीहरु सुरुमा घरबुना भोटो, घरबुना कछाड, पटुकी निलो, स्टकोट, घरबुना कै टोपी, टोपीमा काँक्राको बियाँको रंगीन झुम्के फुल लाउँथे । पछि घरबुनाको ठाउँमा सेतो कमिज भएको छ । तन्नेरीहरु हातमा चाँदीका बाला र कानमा सुनका वीरबुली लाउने गर्दथे ।
  पश्चिमाञ्चलको बाक्लो मगरबस्ती रहेको तनहुँको रिसिङ, घिरिङ, ढोरबराह, स्याङ्जा, पाल्पा, नवलपरासी, गोर्खा, कास्की लगायतका क्षेत्रमा कौरा नाचिन्छ । त्यो बाहेक अहिले गण्डकी, धौलागिरी, लुम्बिनी अञ्चलमा मगरका अलावा गुरुङ, दरै, दुरा लगायतका समुदायले पनि नाँच्ने गरेका छन् । कौरामा एउटै टुक्कालाई धेरैपटक गाइन्छ । नाच्नलाई अनुकुल बनाउन पटकपटक दोहोयाउने गरिएको हो । कौरा नाच्दा केटाहरुले भांग्रा कछाड शिरमा टोपी लगाउँछन् भने केटीहरुले मखमलको चोली घलेक र पोते पहेलो पटुका छिटको गुन्यु र काँधमा सानो रुमाल राख्ने गर्छन् । जमानाको कौरामा यस्तो हुलिया देखिने भए पनि आजभोली खासै देख्न पाईदैन ।

Post a Comment

 
Top