0
निजगढसमाचार, निजगढ, असार २८ गते २०७३
तपाईले सस्तोमा पाएँ भनेर कागजपत्र नभएको मोटरसाईकल किनेर चढ्दै आउनु भएको छ ? यदि त्यस्तो हो भने अब तपाईले प्रहरीले पक्राउ गर्छ ! 
ईलाका प्रहरी कार्यालय निजगढले यस्तो मोटरसाईल चेकजाँचलाई कडाई गरेको छ । तीन हप्ताभित्र प्रहरीले यस्ता एक दर्जन मोटर साईकल बरामद् गरेको छ ।
राजधानी काठमाण्डौंबाट चोरी गरेर ल्याएको मोटरसाईकल बाराको निजगढ नगरपालिका क्षेत्रबाट प्रहरीले बरामद् गरेको छ ।
तीन सातामा यता नक्कली नम्बर प्लेट राखेर चलाइएका र चोरीका १२ मोटरसाइकल ईलाका प्रहरी कार्यालय निजगढको टोलीले बरामद गरेको हो । 
प्रहरीले चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय निजगढको टोलीले चार वटा पल्सर सहित ८ मोटरसाइकल बरामद गरेको हो । 
पुर्वपश्चिम राजमार्ग र नगरको भित्री सडकमा नियमित चेकजाँच क्रममा चालकले कागज पत्र देखाउन नसकेपछि प्रहरीले निजगढ–३ सिंगौलबाट बा. ४५ प ७६३५ नम्बरको कालो पल्सर, निजगढ–१० बाट बा. २३ प ६२५८ नम्बरको निलो पल्सर र ना. १४ प ७४७९ नम्बरको पल्सर बरामद् गरेको छ ।
तामागढीस्थित रतनपुर जाने बाटोमा चेकजाँचका क्रममा ना. २० प. ३३५२ नम्बर प्लेट भएको निलो पल्सर बरामद भएको छ ।   
त्यस्तै  निजगढ–१० बाट बा. २९ प. ना. ९ प ८४८३ को एक्सप्लेण्डर, ना. २ प ४६३८ सिबीजेड, ना. १ प ९८६७  हिरो होण्डा, ना. ११ प ७०३३ एस्कट र ना. ९ ९६०४ नम्बरको बजाज मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । बरामद सबै मोटरसाइकल चोरीको भएको प्रहरीको अनुमान छ ।  
‘कागज पत्र ल्याउछु भनेर गएका चालकहरु सम्पर्कमा आएका छैनन् प्रहरी निरीक्षक सुभाष गैरेले भने, यातायातमा सम्पर्क गरेर बुझ्दा अधिकांशको नम्बर प्लेट नक्कली देखियो ।’ प्रहरीले बरामद मोटरसाइकलको अवस्था बारे यातायात व्यवस्था कार्यालय वीरगंजमार्फत जानकारी लिएको थियो । निरीक्षक गैरेले कागज पत्र देखाउन नसक्ने धनीको मोटरसाइकल आवश्यक प्रकृया पुरा गरी राजश्व अनुसन्धान कार्यालय पथलैयमा बुझाउने तयारी भएको पनि जानकारी दिए । 
त्यस्तै प्रहरीले सलार्ही परवानीपुर–९ घर बताउने २६ वर्षिय सुमन लामा पनि चोरीको मोटरसाईलको आशंकामा पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गस्थित निजगढ–९ सिंगौल गेट अगाडी चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए ।
अत्यधिक मदिरा सेवन गरेर बा. १८ प. ५१७३ नम्बरको निलो रङ्गको हिरो होण्डा मोटरसाईकल चढेका उनीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
चेकजाँच गर्न खोज्दा प्रहरीलाई नै गालीगलौज र हेलमेट प्रहार गर्न खोजेपछि पक्राउ गरि सोमबार म्याद थपको लागि जिल्ला अदालत बारामा पेश गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका लामाले मोटरसाईकल मागेर ल्याएको बताए पनि मोटरसाईकल धनिको बारेमा पूर्ण विवरण दिन सकेका छैनन् । 

Post a Comment

 
Top