0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिकास्थित लालबकैया खोलामा तटबन्धन बनाउँदा मनलाग्दी बनाईएको खाडल पुर्न थालिएको छ ।
पुर्वपश्चिम राजमार्गमा पर्ने लालबकैया नदीको पश्चिमी किनारमा पुलभन्दा दक्षिणतर्फ करिब एक किलोमिटर पर नयाँ खनिएको माटो पुरेर बनाइएको ड्यामको संरचनाका लागि खाडल बनाईएको थियो ।
जंगल छेउमा लालबकैया नदीको पश्चिम किनारामा बन्दै गरेको ६ सय मिटरको तटबन्धका लागि सोही वनको रुखको जरा नै देखिने गरि माटो निकालिदा बनेका खाडल अहिले पुर्ने काम भईरहेको हो ।
वन क्षेत्र जोगाउन बनाउँदै गरिएको तटबन्धनमा माटो भर्न सोही वनबाट माटो निकालिदा रुखहरु ढल्ने अवस्थामा पुगेको थिए ।
राष्ट्रपति चुरे संरक्षण अन्तर्गत तटबन्ध, ड्याम बनाउँदा भएका गहिरा खाडल बालुवाले पुर्ने काम भइरहेको हो ।
    गत साउनमा बनाईएको खाडल पुर्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराले यही असार २ गते जिल्ला वन कार्यालय बारामा पत्र पठाएको थियो ।
वन कार्यालय बाराले खाल्डो पुरी वृक्षरोपण गर्न असार ५ गते पत्र लेखेको थियो ।
    पत्र प्राप्त भएसँगै नजिकैको बकैयाखोला बगरबाट एक डेढ सातायतादेखि ट्याक्टरमा बालुवा ढुवानी गर्दै खाडल पुर्न थालिएको छ । त्यस बेला स्काभेटरद्वारा जथाभावी खनिएका दर्जनौं खाडल पुर्न अहिले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता समिति र ठेकेदार लागि परेका हुन् ।
    खाडल पुर्न खोला बगरको बालुवा ढुवानी गरी थुपार्ने कार्य भइरहेको छ । खाडललाई माटोले नै पुर्नुपर्ने भएपनि सहजैरूपमा माटो उपलब्ध हुन नसकेपछि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता समिति र ठेकेदारले खोलाको बालुवा ओसारेर खाडल पुर्न थालेका हुन् ।
    स्काभेटर प्रयोग गरी तटबन्ध बनाउँदा खाडलै खाडल पारिएको थियो । जसका कारण तटबन्ध, ड्यामका संरचना भत्कँदै, भाँसिदै गएका थिए भने दर्जनौं हरियो ठाडो रूख लड्ने, सुक्ने अवस्थामा पुगेको छ ।
    चुरे संरक्षण तटबन्ध, ड्याम निर्माणमा जथाभावी काम भएको खुलासा भएसँगै पटकपटक राष्टूपति चुरे तराई–मधेस विकास संरक्षण समिति केन्द्रीय अनुगमन टोली, राष्टूपति चुरे तराई–मधेस विकास संरक्षण समिति अन्तर्गतको कार्यक्रम तथा अनुसन्धान सहयोग एकाइ हेटौंडा, मध्य क्षेत्रीय वन निर्देशनालय हेटौंडाले समेत अनुगमन गरी खाडल पुर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । वन विनास गरेर बनाउँदै गरिएको बालुवाको डयम बनाउने बहानामा ४६ लाख ६७ हजार रुपैया बजेट खर्च हुदैछ । ड्यामको पूर्वतर्फ रहेको प्राकृतिक ड्यामबाट समेत स्काभेटर प्रयोग गरेर माटो निकालिएका छन् । ड्यामको दुबै तर्फ १० फिट गहिरो सम्मको खाल्डो छेउमैं खनिएको छ । नयाँ बनेको तटबन्ध मात्र होइन त्यस वर रहेको पुरानो तटबन्ध छेउमा खाडलै खाडल बनाइएको हो ।
     नदीमा नयाँ तटबन्ध बनाउन प्राकृतिक रुपमा रहेको नदीको धारतर्फको किनार खनिएर ति खाल्डाहरु बनेका हुन । अर्को तर्फको जंगलका रुखहरुको जरोभित्रबाट माटो झिक्ने गरी बनाइएको खाल्डो लहरैले छन् । ६ सय मिटरको तटबन्धको लागि नदीतर्फ करिब हजार मिटरको एरियामा र जंगलतर्फ ८ सय मिटरको एरियामा नहर र कुँवाजस्ता अनेक खाल्डा छन् । ‘दुबैतर्फको खाल्डोले नयाँ बनेको तटबन्ध आफै पनि नटिक्ने देखिएको छ भने त्यसबाट दुबै तर्फ बिनाश पनि भएको छ ।
     तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष भाईकाजी श्रेष्ठले आफुहरुले ‘स्टमेट’ अनुसार नै काम गरेको बताएका थिए । ड्याम बनाउँदा केही रुख लड्ने अवस्थामा पुगेको स्विकार गर्दै अध्यक्ष श्रेष्ठले एग्रिमेन्ट अनुसार गर्दा केही क्षति हुन गरेको बताउँदै आए पनि यसको चौतर्फि विरोध भए पछि खाडल पुरिएको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पारवानीपुरले नदीलाई छेउछाउतर्फ फैलिन नदिन र बहाव नियन्त्रण गर्न तटबन्धको निर्माणबाट चुरेको भाँवर क्षेत्रको संरक्षण गर्ने योजना हो । तर ड्याम संरक्षणको नाममा थप वन विनास गर्ने र ‘कागज मिलान गरेर पैसा खाने उपाय’ भएको छ । योजना एक चौथाई खर्च मैं सम्पन्न गर्ने र बाकी रकम बाँडफाँड गर्ने नियतले काम गरिएको देखिएको छ । उपभोक्ता समितिमार्फत भनिए पनि ‘अघोषित ठेक्का’ मा काम भईरहेको बुझिएको छ । ४६ लाख ६७ हजार रुपैया बजेटको काम एक्जाभेटर भिडाएर एक चौथाई खर्च मैं सम्पन्न गर्ने र बाकी रकम बाँडफाँड गर्ने नियतले काम गरिएको स्थानीयको आरोप लागेको छ ।



Post a Comment

 
Top