0
निजगढ समाचार,रौतहट, ४ साउन
संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा आयोजित कार्यक्रममा स्थानीयवासीले ढुंगामुढा गर्दा दुईजना घाइते भएका छन् ।
   कार्यक्रममा सहभागी एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ । नगरपालिकाकाको सभा हलभित्र सभासदहरुलाई राखिएको छ भने बाहिरबाट सर्वसाधारणले ढुंगामुढा गरेका छन् ।
बिहानैबाट तनाव सुरु भएपछि सुझाव संकलन कार्यक्रम बिथोलिएको छ ।

रौतहट क्षेत्र नं १ अन्तरगत नगरपालिकाको सभाहलमा सोमबार बिहानै सुझाव संकलन कार्यक्रम राखिएको थियो । कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र, रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो ।

सभा हलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला सदभावना पार्टीकी सभासद डिम्पल झा र नेता अनिल झाले प्रवेश गर्नेबेलामा सर्वसाधारण समेत प्रवेश गर्न खोजेका थिए । सर्वंसाधारणलाई प्रवेशमा रोक लगाइएपछि झडप सुरु भएको थियो ।

विरोध प्रदर्शनमा स्थानीय जनतासँगै मधेसवादी दलका कार्यकर्ताहरु पनि सहभागी छन् । उनीहरुले सुझाव दिने कार्यक्रममा आफूहरुले पनि प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् ।

झडपपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कार्यक्रमस्थलमा प्रहरीले मान्छेको अनुहार हेरेर नेतालाई मात्रै प्रवेश दिने र सर्वसाधारणलाई रोक लगाउने गरेपछि असन्तुष्टि बढेको हो । नेताहरुलाई छिर्न दिने तर सर्वसाधारणलाई तिमी भित्र जान पाउँदैनौ भनेपछि सर्वसाधारण चिढिएका हुन् । साथमा असन्तुष्ट मधेसवादी दलका कार्यकर्ताले पनि प्रवेश नपाएपछि मधेसवादी कार्यकर्ता र सर्वसाधारण जनताले मिलेर नाराबाजी सुरु गरेका छन् ।

माइक भाँचिए पनि कार्यक्रम सुरु
झडपका क्रममा हलभित्रै केहीबेर कुर्सी हानाहान भएको थियो । बाहिर राखिएको माइक पनि असन्तुष्टहरुले तोडफोड गरिदिएका छन् ।

केहीबेरको झडपपछि सभास हलभित्र प्रहरीको सुरक्षा घेरामा सुझाव संकलन कार्य सुरु गरिएको छ । भित्र सुझाव संकलन कार्यक्रम भइरहँदा बाहिर नाराबाजी र विरोध जारी छ ।







Post a Comment

 
Top