0

निजगढसमाचार, सिमरा, २७ फाल्गनु
वीरगन्ज युनाईटेड क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा वीरगन्जबिरुद्ध अन्तिम मिनेटमा जित निकाल्दै रुपन्देही फाईनलमा प्रवेश गरेको हो । जितसंगै रुपन्देहीले उपाधी भिडन्तका लागि हेटौडासंगको भेट पक्का गरेको छ । हेटौडा र रुपन्देहीको खेल शनिवार हुनेछ ।
साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेटौडा यसअघिनै फाईनलमा प्रवेश गरिसकेको छ । हेटौडासंगको भेट पक्का गर्ने क्रममा रुपन्देहीले खेल सकिन एक मिनेट अघि निर्णायक गोल गरेको हो । निर्धारित समय सकिएपछि थपिएको दुई मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा म्यान अफ दि म्याच घोषित योगेशले उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाए ।
योगेशले एकल प्रयासमा वीरगन्जका गोलरक्षक र रक्षापंक्तीलाई बिट गर्दै गोल गरेका थिए । उनको निर्णायक गोलसंग रुपन्देहीले पाच लाख ५१ हजार हजार पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधी होडमा आफूलाई उभ्याउन सफल भयो ।
खेलमा पाएको राम्रो अवसर सदुपयोग गर्न नसक्दा वीरगन्ज अन्तिम समय सम्हालिन नसक्दा हार ब्यहोर्दै बाहिरियो । ईन्जुरी समयमा वीरगन्जका बिक्रम लिम्बुले वन भर्सेस वनको स्थितीमा गोल गर्न चुकाएका थिए । त्यसको काउण्टरमै रुपन्देहीले गोल गरेका हुन् ।
कर्ण लिम्बु र अमर डंगोल जस्ता वीरगन्जका स्ट्राईकर सेमिफाईनल भिडन्तमा चल्न सकेनन् । रुपन्देहीले पनि पाएको राम्रो अवसर सदुपयोग गर्न नसक्दा अन्तिम समयसम्म जितका लागि संघर्ष गर्नुप¥यो ।
टिमको पराजयपछि वीरगन्जका प्रशिक्षक सुलभजंग राणाले अन्तिम समय सम्हालिन नसक्दा हार ब्यहोर्नुपरेको बताए । रुपन्देहीको तुलनामा टिमको प्रदर्शन राम्रो भएपनि सुरुवातदेखीनै पाएको अवसर चुकाउन पुग्दा पराजित हुन पुगेको राणाको भनाई थियो ।
रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले भाग्यले आफूहरुलाई साथ दिएको प्रतिक्रिया दिए । वीरगन्जले अन्तिम मिनेटमा पाएको अवसर सदुपयोग गर्न नसकेपछि पाएको काउण्टरमा आफ्नो खेलाडी गोल गर्न सफल भएको खड्काले बताए ।

Post a Comment

 
Top