0

निजगढसमाचार,सिमरा, २६ फाल्गनु
साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 
सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीबिरुद्ध सडन डेथमा नतिजा निकाल्दै हेटौडा अन्तिम दुईमा प्रवेश गरेको हो । 
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि नजिता आउन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । 
सडन डेथमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टमा ठोक्किदा हेडौडाका सुनिल बिकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । यसअघि टाईब्रेकरमा आर्मीका जितेन्द्र कार्की, भरत खवास, रजिन धिमाल, दिपक गुरुङ र गोलरक्षक बिकेश कुथुले गोल गरेका थिए । हेटौडाका लागि सुनिल बल, सन्जय राज बाहक, भुपाल गुरुङ, रवि भण्डारी र बिश्व अधिकारीले गोल गरेका थिए । 
खेलको सुरुवातमै खेलमा अग्रता लिएपनि आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा हेटौडाले बराबरी गोल फर्काएको थियो । खेलको १० औ मिनेटमा आर्मीले पेनाल्टीमार्फत अग्रता लिएको थियो । हेटौडाका मनोज बिष्टले टंक बस्नेतलाई लडाएपछि पाएको पेनाल्टीमा आर्मीका जितेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 
आर्मीबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हेटौडाले थुप्र्रै अवसर बनाएपछि पहिलो हाफमा गोल फर्काउन सकेन् । आर्मीले पनि पहिलो हाफमा पाएको केही अवसर चुकाउन पुग्दा अग्रता बढाउन सकेन ।
झण्डै चार हजारको संख्यामा दर्शक उपस्थित भएको सिमरा रंगशालामा आर्मी र हेटौडाबिचको दोस्रो हाफ पनि प्रतिस्पर्धात्क र रोमाञ्चक बन्न पुग्यो । आर्मीबिरुद्ध राम्रा अवसर सिर्जना गरेको हेटौडाले खेलको ५८ औं मिनेटमा बराबरी गोल फर्र्काउने अवसर गुमायो । आर्मीका गोलरक्षक बिकेश कुथुलाई बिट गर्दै हेटौडाका रवि भण्डारीले प्रहार गरेको बल हिरण्य मगरले गोल लाईनबाट क्लियर गरेका थिए । 
खेलमा फर्कर्ने थुप्रै अवसर गुमाएको हेटौडाले खेलको ८७ औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीको रक्षापंक्तीलाई तोड्दै बिमल रानाले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काएका हुन् । हेटौडाबिरुद्ध दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न आर्मीका भरत खवास, राजु तामाङ, रजिन धिमाल चुक्दा निर्धारित समय बराबरीमा सकिदै अतिरिक्त समयमा धकेलिएको हो । 
अतिरिक्त समयमा पनि दुबै टिमले अवसर गुमाउन पुग्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत नजिता नआएपछि सडन डेथमा आर्मीलाई हराउदै नवप्रवेशी हेटौडामा अन्तिम दुईमा पुग्यो । 
टिमको पराजयपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेलको सुरुवातमै अग्रता लिएपनि सम्हालिएर खेल्न नसक्दा पराजय भोग्नुपरेको बताए । खेलमा अग्रता बढाउने थुप्रै अवसर चुकाउन पुग्नुपनि टिमका लागि दुभाग्यपूर्ण भएको केसीको भनाई थियो । 
हेटौडाका प्रशिक्षक सुविन घिमिरेले टिमको प्रदर्शन तारिफयोग्य रहेको बताए । आर्मीजस्तो सशक्त टिमबिरुद्ध आफ्ना खेलाडीले देखाएको प्रदर्शनलाई आफूले निकै सम्मान गर्ने घिमिरेको भनाई थियो । 
प्रतियोगिता अन्र्तगत बिहिवार दोस्रो सेमिफाईनल खेल वीरगन्ज युनाईटेड क्लब र रुपन्देही ११ बिच खेल हुनेछ । 

Post a Comment

 
Top