0
बैज्ञानिक वन ब्यवस्थापनको अन्तिम तयारी
निजगढसमाचार, निजगढ
निजगढको सबैभन्दा ठुलो प्रस्तावित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहमा बैज्ञानिक वन ब्यवस्थापन लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
निजगढ–८ स्थित बकैया सामुदायिक वन उपभोक्ता समुह र नागमणी महिला सामुदायिक वन उपभोक्ता समुह मर्ज भई नाम बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुह प्रस्ताव गरिएको छ ।
दुवै समुहलाई मिलाउँदा करिब पाँच सय हेक्टर वन क्षेत्र हुने भए पछि निजगढकै सबैभन्दा ठुलो बैज्ञानिक वन ब्यवस्थापन भएको समुह बन्ने भएको हो । वन समुहमा करिब सात सय उपभोक्ता हुनेछन् ।
बैज्ञानिक वन ब्यवस्थापन लागु गर्न जिल्ला वन कार्यालयबाट कार्ययोजना बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
अन्तिम चरणमा रहेको ८० वर्षे गुरुयोजनामा वन क्षेत्रलाई  ८ वटा खण्डमा विभाजन गरि प्रत्येक खण्डमा १० वर्ष बैज्ञानिक विधिबाट संरक्षण गर्दै लैजाने वन विज्ञ रामआश्रय साहले बताए ।
दक्षिणमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थल (पूर्वपश्चिम महेन्द्र राजमार्ग), पूर्वमा खयरघारी प्रावि पश्चिममा प्रस्तावित काठमाण्डौं–निजगढ दु्रत मार्ग र पर्सा वन्य जन्तु आरक्ष त्यस्तै पश्चिममा कछडिया सामुदायिक वन समुह वन सिमाना हो ।
संयुक्त साधारण सभाको तयारी
समुहको संयुक्त साधारण सभा आउँदो जेठ ३ गते गर्ने तयारी भएको बकैया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रबिराज दंगालले बताए । ‘दुबै समुहको संयुक्त बैठकको निर्णय अनुसार प्रथम संयुक्त साधारण सभा गर्न लागिएको हो’, दंगालले भने–‘साधारण सभाबाटै बैज्ञानिक वन ब्यवस्थापन बारे प्रस्ताव लैजाने र भेलाबाट पास भएसंगै लागु हुने छ ।’
दुबै समुहको कार्यसमितिको बैशाख ९ गते बसेको संयुक्त बैठकले समुह मर्ज गर्ने निर्णय गरेको थियो । तत्कालिन नागमणी सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व विरुद्ध अख्तियारमा उजुरी परेपछि दुई वर्षदेखि निष्कृय रहदै आएको थियो । समुहकी तत्कालिन अध्यक्ष मिना लामा, सचिव मिरा पोखरेल विरुद्ध उजुरी परेपछि गलत नियतले फसाउन खोजिएको भन्दै उनीहरु न्यायको लागि दौडिरहेका छन् । त्यसपछि हरिमाया फुँयालले नेतृत्व गर्दै आए पनि समुह सक्रिय हुन सकेन् । समुहको करिब दुई करोड ५६ लाख रकम अख्तियारले धरौटी खातामा रोक्का गरि राखेको छ ।
यता २०६६ सालमा स्थापन भएको बकैया सामुदायिक वन उपभोक्ता समुह पुरुषोत्तम धितालले अहिले नेतृत्व गर्दै आएका छन् । ‘समुह निष्कृय जस्तो देखिए पनि बैज्ञानिक वन ब्यवस्थापनको लागि हामी एक वर्षदेखि दौडिरहेका छौं,’ समुहका अध्यक्ष धितालले भने–हामी बल्ल लागु गर्ने अवस्थामा आएका छौं ।’
समुहका कोषाध्यक्ष रबिराज दंगाल भने बैज्ञानिक वन ब्यवस्थापन मार्फत वनको उचित संरक्षण र उपभोक्ताको आवश्यकता पुरा गर्ने अन्तिम अवस्थामा पुगेको बताउँछन् । ‘पुरानो पाराले अब वनको संरक्षण हुने स्थिति नदेखिएकाले हामीले बैज्ञानिक वन ब्यवस्थापन मार्फत दिगो वन ब्यवस्थापन गर्ने र उपभोक्तालाई चाँडै काठ वितरण गर्न कार्ययोजना कार्यान्वयनमा ल्याईने छ’, दंगालले भने–अब वनबाट उपभोक्तालाई फाईदा हुने छ । यसले वन संरक्षणमा समेत उपभोक्तालाई चासो अझैं बढ्ने छ ।’

Post a Comment

 
Top