0

  • महेश्वर अधिकारी 

एक हप्ताको विचमा निजगढमा दुई वटा महत्वपूर्ण राजनैतिक घटना भए । जसले निजगढमा राजनीतिक धु्रधिकरणको संकेत गरेको छ ।
पहिला नयाँ घटना बारे :
राप्रपा नेपाल निजगढले सोमबार नयाँ नेतृत्व पायो । उसको दोस्रो नगर अधिवेशनमार्फत एक जना युवा नेतृत्वमा पुगे । कार्यसमितिमा यस अघि सचिवको जिम्मेवारी सम्हालिसकेका बागदेवका खड्ग प्रसाद उप्रेती ‘उमेश’ राप्रपा नेपाल निजगढ नगर कमिटिको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए ।
माओवादी जनयुद्ध मार्फत युग परिवर्तन गर्ने भन्दै बन्दुक भिरेर हिँडेका क. उमेश त्यहि आन्दोलनको एजेन्डा भन्दा विपरित धु्रवको पार्टीमा केहि समय अघि आवद्ध भए । अहिले छोटै समयमा नगरको नेतृत्वमा पुगे । गणतन्त्रको लागि लडेका क. उमेश कसरी राजतन्त्रवादी हुन      पुगे ? उत्तर उनीसंगै छ । तर यति छिट्टै फरक पृष्ठभूमीबाट आएर पनि नगरकै नेतृत्व गर्न पाउनु यो आफैमा चुनौतीपूर्ण एवं महत्वपूर्ण सफलता हो । सफल कार्यकालको मेरो अग्रिम बधाई छ ।
दोस्रो एक हप्ता अघिको घटना :
निजगढमा एक हप्ता अघि सोमबार विहान कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन बन्यो । निजगढ–८ को बकैया नागमणी सामुदायिक वन समुहको निर्वाचनको विषयबाट सुरु भएको छलफल गठबन्धन निर्माणको चरण सम्म पुग्यो ।
संसदमा हेर्ने हो भने सबैभन्दा ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा छ । नेकपा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारमा छ । एमाले–माओवादी विच सत्ताको विषयमा खटपट भए पनि छलफल भने स्थानीय निकायको निर्वाचनमा कार्यगत एकतासम्मको भएको छ । 
कांग्रेसको समर्थनमा  माओवादीले राष्ट्रिय सरकारको नेतृत्व लिने चर्चा पनि भयो ।
यी दुबै चर्चा अहिले मथ्थर छ । तर निजगढमा भने कांग्रेस–माओवादी गठबन्धन निर्माण भयो । यी दुई दल विच स्थानीय निकायको निर्वाचनसम्म सहकार्य गर्ने लिखित हस्ताक्षर भएको कुरा बाहिर सुनिन थालेको छ ।
यो कुरा बाहिर आएपछि वन समुहको निर्वाचनको विषयमा निर्वाचन मण्डलको पहलमा भएको सहमतिय वार्तामा एमाले एउटा पक्ष र गठवन्ध अर्को पक्ष बनेर प्रस्तुत भएको बुझिएको छ । त्यसै अनुसार गठबन्धनले अध्यक्ष, कोषाध्यक्ष र सहसचिव सहित ९ सदस्य पाए । त्यसैगरि उपाध्यक्ष र सचिव सहित ६ सदस्य एमालेको भागमा प¥यो ।
गठबन्धनको निर्णय अनुसार माओवादीले वनको नेतृत्व गर्ने मौका पायो । गत संविधान सभाको निर्वाचनको मत परिणाम अनुसार यो वडामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । 
निजगढका सामाजिक संघसंस्थामा एमालेको एकाधिकार जस्तै छ । वन, विद्यालय, सहकारी, खानेपानी जस्ता विभिन्न संघ संस्थामा सहकार्य गरेर जाने विषयमा कांग्रेस–माओवादी विच भएको भनिएको सहमतिले कस्तो परिणाम ल्याउँला ? वन समुहमा जस्तै एमाले सहितको सहमति कार्यसमिति निर्माण गर्छ कि एमाले बाहेकको त्यो भने हेर्न बाकिँ नै छ ।
उद्योग वाणिज्य संघको निर्वाचनमा अपार सफलता पाए पछि हौसिएको कांग्रेस माओवादीको समेत साथ पाए पछि आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गर्न सकिन्छ ?  उद्योग वाणिज्य संघको निर्वाचनमा लज्जास्पद हार महशुस गरेको एमालेले पार्टी निकट ब्यवसायिलाई संगठित बनाउने अभियानमा जुटिसकको छ । खानेपानीको चुनाबमा माओवादीसंग सहकार्य नहुदाँ हार ब्यहोर्नु परेको समिक्षामा पुगेको कांग्रेस एमालेसंग भिड्न माओवादीको साथ खोजेको देखिन्छ ।
पहिलो शक्तिबाट निकै तल तेस्रोमा झरेको माओवादी टुटफुटलाई जोड्दै केन्द्र निर्माण गरेर शसक्त रुपमा निजगढ सिचाईमा कांग्रेससंग सहकार्य गर्दा पाएको सफलतालाई निरन्तरता दिन नसक्दा संघसंस्था विहीन हुन परेको पीडा भुलाउने प्रयासमा सहकार्यमा जोड दिएको प्रष्ट बुझ्न सकिन्छ ।
संसदको चौथो ठुलो दल राप्रपा नेपाल निजगढमा भने एमालेसंग सहकार्यमा छ । खानेपानी चुनाब देखि कायम रहेको सहकार्यलाई नव निर्वाचित नेतृत्वले कायम राख्छ कि राख्दैनन् प्रतिक्षा गुर्नपर्छ । ब्यक्तिगत रुपमा उप्रेती एमाले निकट मानिदैनन् । 

Post a Comment

 
Top