0

निजगढसमाचार, काठमाण्डौं, २ मंसिर ।
रामकृष्ण घिमिरे/वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपाली कामदारहरुले भोग्नु परेका समस्याको समाधान गर्न सरकारले अझै प्रभावकारी रुपमा पहल गर्न आग्रह गरिएको छ ।
नेपाली साझा मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्रममा साउदी अरबमा देखिएको समस्या र समाधान विषयक अन्र्तकृया कार्यक्रममा सहभागि वक्ताहरुले यो विषयमा सरकारले पहल गर्न जोड दिएका हुन् ।
  हाल विदामा साउदी अरबबाट नेपाल आएका मञ्चका अन्र्तराष्ट्रिय अभियन्ता रामकृष्ण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा अभियन्ता महेश श्रेष्ठले साउदी अरबमा देखिएको समस्या र समाधान विषयक कार्यपत्र पेश गरेका थिए ।
उनले नेपाली पुरुष कामदार र महिला कामदारहरुले भोग्नुपरेको समस्या चर्चा गर्दै समाधानका उपाय पनि प्रस्तुत गरेका थिए ।
   श्रेष्ठले साउदी अरबमा नेपाली कामदारहरुले भोग्नु परेको समस्या समाधानका लागि कामदार मागका लागि पूर्वस्वीकृति दिईने अधिकार वैदेशिक रोजगार ऐन संशोधन गरेर राजदुतावासलाई मात्रै दिईनु पर्ने र वैदेशिक रोजगार कल्याण कोष ऐनमा उल्लेख भएको प्रावधानलाई पूर्णरुपमा कार्यन्वयन गर्नुपर्ने बताए ।
कोष संचालन वैदेशिक रोजगार ऐनको प्रावधानमा “कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था ः ९१० करार बमोजिमको सुविधा नपाएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनु पर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फिर्ता गराउनु पर्नेछ ।” भनिए पनि हालसम्म साउदी अरबमा पीडित कामदारहरुको उद्धारका निम्ति कोषले सहयोग नगरेको पनि उनले बताए ।
  त्यसैगरी साउदी अरबमा देखिएको कामदारहरुको समस्या समाधान नभएसम्म थप नयाँ कामदार पठाउन नहुने र त्यही भएका कामदारहरुलाई व्यवस्थापन गर्नु पर्नेमा पनि श्रेष्ठले जोड दिएका थिए ।
त्यस्तै वैदेशिक रोजगार विभाग कार्यालयका प्रमुख कृष्णप्रसाद दवाडीले साउदी अरबमा देखिएको समस्यालाई न्यूनिकरण गर्न श्रम स्वीकृतिमा कडाई गरिन थालेको पनि जानकारी दिए ।
यसैगरी वैदेशिक रोजगार व्यवसायी संघ साउदी अरब संयोजक ईश्वर जि.सि.ले कामदारहरु अलपत्र पार्ने झुक्काउनेहरुलाई कारबाही गर्न संघ प्रतिबद्ध रहेको बताउदै ऐजेन्टको भनाईमा विश्वास नगर्न र वैदेशिक रोजगारमा जान अघि पूर्ण जानकारी लिएर मात्रै जानु पर्ने सुझाए ।
भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुषाल झाले वैदेशिक रोजगारका क्रममा नेपालीहरुले विदेशमा दुःख पाएको नेपालीहरुप्रति व्यक्त गर्दै उनीहरुको न्यायिक संघर्षमा आफूले हरसमय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
  यसैगरी एमालेकी युवा विभागकी केन्द्रीय सदस्य मिना श्रेष्ठले स्वदेशमै रोजगार पाउनुपर्ने अवस्था निर्माण गरेर युवाहरुलाई वैदेशिक रोजगारमा जानेबाट रोक्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा तमलोपाका सहकोषाध्यक्ष कविन्द्रनाथ ठाकुर, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लगायतको समेत उपस्थिति रहेको थियो ।

मञ्चका अन्र्तराष्ट्रिय अभियन्ता रामकृष्ण घिमिरे हुनु पर्नेमा यस अघि अन्यथा भएकोमा सच्याईएको छ ।
–सम्पादक

Post a Comment

 
Top