0
निजगढ युवा क्लब र आर एफ सी क्लब चितवन भिड्दै 

निजगढसमाचार, निजगढ, ८ फागनु
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा अहिले निजगढ युवा क्लब र आर एफ सी क्लब चितवन खेलिरहेको छ । बाराको निजगढ–५ पुरानोटोल स्थित खेल मैदानमा जारी खेलमा आर एफ सी क्लब चितवनले अग्रता लिएको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर एफ सी क्लब चितवनले भर्खरै सुरु भएको दोस्रो हाफको तेस्रो मिनेटमा नै पहिलो गोल गर्दै अग्रता लिएको हो । चितवनको लागि सुनिल श्रेष्ठले पहिलो गोल गर्दै खाता खोलेका हुन् ।
यस अघि प्रतियोगिताको बाराका स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डेले उद्घाटन गरेका थिए । शहीद हिरालाल गौतमको फोटोमा माल्र्यापण गरेर पाण्डेले उद्घाटन गरेका हुन् । न्यु जनजागृति युवा क्लब निगगढले आयोजना गरेको प्रतियोगिताको यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्टले उद्घाटन गर्ने तयारी थियो । उद्घाटन कार्यक्रमको क्लबका अध्यक्ष थानेश्वर  सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शहीद हिरालाल गौतमकी पत्नी गायत्रि गौतम, जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिल बहादुर लामा, निजगढ नगरपालिकाका प्रशासन शाखा प्रमुख नविन खनाल, निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका चौलागाई, राष्ट्रिय तेक्वान्दो महासंघका महसचिब हिरा बहादुर थापा विशिष्ठ अतिथि रहेको कार्यक्रममा स्वागत नारायण प्रसाद गौतम र संचालन क्लबका सचिव पुरुषोत्तम भट्टराईले गरेका थिए ।
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप नारासहित संचालन भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद र कप तथा मेडल पाउने छ । त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् ।
प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।
प्रतियोगिताको निजगढ समाचार साप्ताहिक, निजगढ डटकम, रेडियो सिमरा, निजगढ केवल नेट मिडिया सहयोगि हुन् ।





Post a Comment

 
Top