0

निजगढकै पुरानो कछडिया समुदायबाट सबैभन्दा उच्च कदको राजनीतिक तहमा पुगेका छन् महेसी कुमर । कम्यूनिष्ट पृष्ठ भुमिबाट राजनीति थालेका कुमर  नेकपा एमाले हुँदै एक दशक यता नेपाली कांग्रेसमा आवद्ध भए । अब निजगढ नगरपालिकाको जिम्मेवारी महेसी कुमरको हातमा आएको छ । यो अवधिमा पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।  सबैको सहयोगीको पहिचान बनाएका उनी भर्खरै नेपाली कांग्रेस निजगढ नगर ईकाई समितिको सभापतिमा निर्वाचित भएका कुमरसंग निजगढसमाचारका कार्यकारी सम्पादक महेश अधिकारीले गरेको कुराकानी :

  • तपाईलाई निजगढ समाचारको निजगढ शो मा स्वागत छ । सबैभन्दा पहिला तपाईलाई बधाई छ, नेपाली कांग्रेसको यति ठुलो जिम्मेवारी पाउनु भएको छ, यसलाई कसरी अगाडी बढाउने सोच्नु भएको छ ? 

–धन्यवाद तपाईलाई । यसलाई मैले कसरी सोचेको छु भने निजगढ नगरपालिका भयो । यस नगरपालिकालाई कसरी अगाडी बढाउने, आफ्नो पार्टीलाई अगाडी बढाउने र पार्टीमा जुन चुनाब गर्ने सवालमा जुन पक्ष–विपक्ष हिसबले गयो त्यो पार्टीमा प्रजातान्त्रिक पद्धति हो । त्यो गईयो ठिक छ । त्यसमा केहि छैन् । तर अब म निर्वाचित भईसकेपछि सबै नेता–कार्यकर्तालाई मिलाएर लानु पर्ने हुन्छ । सबैलाई मिलाएर लानु नै मेरो प्रमुख भुमिका हुनेछ । त्यसपछि पार्टीको भुमिकालाई नगरमा कसरी बढाउने भन्ने मेरो लागि चुनौति हुनेछ । 
त्यसैगरि हाम्रो पार्टी भित्र हाम्रा नेताहरु गुठ उपगुठमा छरिएको, असन्तुष्ट भएको छ, त्यसलाई पनि एक रुपता गर्ने, एकताको मालामा गाँसेर लाने र हरेक विषयमा सबैसंग सरसल्लाह गरेर पद्धतिलाई प्राथमिकता दिने र नीति निर्देशनलाई प्राथमिकता दिने यस्तो खाले नियमलाई प्राथमिकता दिने नै मेरोलाई सौभाग्यको कुरा हो ।
यो कुराहरुलाई मैले अगाडी बढाएर लैजानु पर्ने हुन्छ । पार्टीसंगसंगै नगरपालिकाको विकासको लागि मैले सहयोग गर्दै आएको पनि छु र अब पनि पार्टी भन्दा माथि उठेर म सहयोग गर्न तयार छु । यहि नै मेरो प्रतिवद्धता पनि भयो ।

  • नगरको निर्वाचनको सन्दर्भमा सुरु देखि नै संस्थापन पक्ष र देउवा पक्षको बेग्ला–बेग्लै रुपमा माहौल देखिन्थ्यो । त्यसमा सुरुमा संस्थापन पक्षको उम्मेदवारको रुपमा देखिनु भयो । तर निर्वाचनको अन्तिम समयमा भने देउवा पक्षबाट उम्मेदवार खडा हुनु भएको भन्ने चर्चा छ । खास कुरा के हो ? 

–केन्द्रमा संस्थापन पक्ष र देउवा पक्ष कायम छ । त्यसकै लहलहैमा लागेर नेता–कार्यकर्ताहरुले ग्रास लेभलमा पनि बढाएको कारणले गर्दा त्यस्तो देखिएको होला । नत्र हामी स्थानीय तहमा यसरी पक्ष–विपक्ष वा संस्थापन वा देउवा प्यानका हिसाबले हामी गएका छैनौं । त्यस्ता कुरा आएको हो तर हामीले त्यसलाई कुरामा नै सिमित राख्यौं । पक्ष–विपक्ष नगरीकन हामी अगाडी बढ्नु पर्छ है भनेर  जिम्मेवार नेता–कार्यकतामा भएको हो ।

  • निजगढमा पार्टी सभापति सुरेश खनाल र संविधान सभा निर्वाचनका प्रत्यासी शम्भु बहादुर बुढाथोकी समुहको  बेग्ला बेग्लै पक्ष थियो । तर निर्वाचनको अन्तिम अवस्थामा तपाई यो दुबै पक्षको साझा उम्मेदवार  बन्न सफल हुनु भयो, यो कसरी सम्भव भयो ? 

–यसमा के भयो भने काम गर्ने शिलशिलामा हुन त सुरेश जीले एक पक्षको नेतृत्व गर्नु भएकै हो । हाम्रो सम्भु दाईले अर्को पक्षको नेतृत्व गर्नु भएकै हो । तर ग्रास लेभलमा हाम्रो होईन, राम्रो भित्र अतिराम्रो भन्ने कुरा दुबैको मनमा आए पछि र अनि दुबै पक्षबाट मलाई सहयोग भएको हो ।

  • तपाईसंग प्रतिष्पर्धा गर्नुभएको पासाङ लामाले संस्थापन पक्ष र तपाईले देउवा पक्षको नेतृत्व गरेर मैदानमा उत्रिएको कुरा चाहिँ साँचो होईन र ?

–होईन, होईन् । हामी दुवै जना एउटै पक्षका थियौं । तर मसंग प्रतिष्पर्धा गर्नुभएको पासाङ भाईको उम्मेदवारी संस्थापन वा देउवा पक्षको हिसाबले नभई निर्वाचनलाई प्रतिष्पर्धी बनाउनको लागि मात्र हो । सर्वसम्मत गरेर नेतृत्व छान्ने टिके चलनको अन्त्य गर्न पासाङ भाईले उम्मेदवा्री दिएका हुन् । भाईले चुनाबी पद्धतिलाई अंगालौं, यसले निष्पक्ष नेता छान्न सक्छ, निष्पक्ष रुपमा काम गर्न पाउँछ तर सबैको सर्वसम्मत हुन्छ भनेर उम्मेदवारी दिएका हुन् ।   

  • तपाईलाई निर्वाचित हुनु भएको मतदान प्रकृयामा धेरैले सहभागिता जनाएनन् । यस्तो त किन भयो होला ? 

–यस्तो किन भयो भने हाम्रो अधिवेशन एक दिन थियो । एक दिनको अधिवेशन ढिलो हुन गयो तर हामीलाई त्यहि दिन नै अधिवेशन सक्नु पर्ने बाध्यता थियो । तर हाम्रा जिम्मेवार नेताहरुको कमिकमजोरीले गर्दा खेरी अलिकति भनौं न आयोजककै कमिकमजोरीले गर्दाखेरी त्यो दिन हुन नसकेर अर्को दिन तोकियो । त्यसले गर्दा कार्यकर्ता दिनदिनै कसरी आउने ? किन आउने ? काम अकाज हुन्छ । आखिर एउटा नेता जिति हाल्छ भन्ने हिसाबले धेरै कार्यकर्ताहरु दुःखी मानेर, असन्तुष्ट भएर उपस्थित नहुदा सहभागितामा कमी आएको हो ।

  • हरेक निर्वाचनमा उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने चलन छ । तपाईहरुको निर्वाचनमा त्यस्तै खाले प्रतिवद्धता पत्र त सार्वजनिक गर्नुभएन् अब तपाई निर्वाचित भईसक्नु भयो भन्नुस निजगढको विकासको लागि तपाईको योजना के छ ?

–सबैभन्दा पहिला मेरो ध्यान पार्टीमा नै केन्द्रित हुने छ । किन भन्नु हुन्छ भने घर बलियो भएन भने बाहिर बलियो हुँदैन । त्यसैले गर्दा म पहिला घर अर्थात पार्टीलाई नै बलियो पारेर म अघि बढाउन चाहान्छु । मैले पार्टीको नीति नियमभित्र बसेर नै पार्टीलाई बलियो पार्ने हो । त्यसपछि निजगढ नगरपालिकाको विकासको सन्दर्भमा भन्नु पर्दा केहि सुधार गर्नुपर्ने कुरा पनि छ । नगरपालिकाले अहिले बजेट बिनियोजन भईरहदा त्यसमा ब्यक्ति विशेषलाई बढी केन्द्रित गरिएको छ । त्यो गलत हो । त्यसलाई रोक्न आगामी दिनमा मैले भुमिका खेल्छु । त्यस्तो हुन सक्यो भने मात्र सानो देखि ठुलोसम्म विकास निर्माण स्वच्छ रुपमा अगाडी बढ्ने छ भन्ने मेरो विश्वास रहेको छ । त्यस्तै निजगढमा प्रस्तावित राष्ट्रिय गौरबका आयोजनाहरुको सफल कार्यान्वयको लागि म र मेरो पार्टीको तर्फबाट महत्वपूर्ण भुमिका निभाउने छु । त्यसमा कुनै कसर बाँकि राख्ने      छैन् । त्यस्ता विषयमा पार्टीभन्दा माथि उठेर ध्यान पु¥याएर सहयोग पु¥याउँछु । यसरी निजगढको विकासको लागि कुनै पनि बेला पछि नहट्ने म सभापतिको हैसियतले तपाईको पत्रिका मार्फत प्रतिवद्धता जाहेर चाहान्छु ।

  • तपाईलाई हिजोको दिनदेखि नै निवर्तमान सभापति सुरेश खनालको सहयोगी मात्र हो भन्ने धेरैको बुझाई छ । अब निर्वाचित भएर तपाई नगरको सभापति भैसक्नु भयो । अब तपाईले आफ्नै छुट्टै पहिचान कसरी बनाउनु हुन्छ ? 

 –मलाई सुरेश खनालको निकट भन्ने गरेकै हो । यस्तो किन भन्दा खेरी विगतमा पार्टीभित्र वा विभिन्न संघसंस्थामा काम गर्दाखेरी पार्टीमा म सचिव उहाँ सभापति, संस्थामा उहाँ अध्यक्ष हुँदा मैले कोषाध्यक्ष भएर काम गरेको छु । यसले हाम्रो निकता देखाउँछ । त्यहि कारणले मलाई उहाँको निकटको भनिएको होला । तर अब केन्द्रको एउटा सभापति छन् भने निजगढको सन्दर्भमा मेरो लागि पार्टीलाई विकास देखि निकास सम्म भने मेरो लागि निजगढमा तीन जना सभापति छन् । पहिलो शम्भु बहादुर बुढाथोकी, दोस्रो सुरेश खनाल र तेस्रो पेमा लामा हुन् । यो मेरो लागि तीन जना नै समान रुपका अग्रज नेता छन् । म तीन वटै नेतालाई मिलाएर लैजाने योजनामा छुु । मलाई विश्वास छ कि यसले हाम्रो पार्टीको उचाई पनि बढ्छ । गति पनि अगाडी बढ्छ । र हरेक विकास/निकासमा सजिलो हुन्छ ।

  • निजगढ नगरपालिका अन्र्तगत सिगौंल र रतनपुर साविक गाविस र तपाईले प्रतिनिधित्व गरेको कछडिया समुदाय विकासको दृष्टिकोणले पछाडी पारिएको भन्ने छ, यसलाई कसरी समेट्नु हुन्छ  ? 

 –अब रतनपुर र सिगौंल पछाडी पारेको भन्ने कुरा साथीहरुले सभामा, भेलामा र नगरपालिकाको परिषद्मा भनेकै हो । किन भन्दा खेरी उहाँहरुले जुन हिसाबले सजिलो पाराले विकास चाहिरहेका थिए र बजेट लिईराखेका थिए त्यो अलिकति घुमाउरो पाराले भएको कारण उनीहरु असन्तुष्ट भएका हुन् । तर बजेट भने उहाँहरुले पहिला गाविस हुँदाको भन्दा धेरै   पाएका छन् । तर त्यो हामीले बुझाउन नसकेको मात्र हो । तर बुझाउँदा खेरी उनीहरु सन्तुष्ट भएका छन् ।
म जुन जनजातीको हिसाबले मेरो कछडिया जाती अलिकति पछाडी परेकै छन् । उहाँहरुलाई पनि म के भन्छु भने कुनै विकास पाउनको लागि हामीले केहि गुमाउनु पर्छ भने पनि तयार हुनुपर्छ । तपाईहरु पनि नेतृत्वमा आउनुस्, काम गर्ने शैलीमा आउँनुस र काम गर्दाखेरी केहि कमिकमजोरी हुन्छ । सफल गर्ने बाटोमा आउनुस् र नेताको हिसाबले आउनुस् अवश्य पनि पिछडिएको हाम्रो जात, हाम्रो समाज अवश्य अगाडी बढ्छ पनि विकास पनि हुन्छ भन्ने कुरा मैले भन्दै आएको छु । उहाँहरुले प्रतिवद्धता पनि जनाउनु भएको छ ।

  • एउटा निर्वाचनले अर्को निर्वाचनलाई संकेत गर्छ भनिन्छ । आगामी स्थानीय निर्वाचनको सन्दर्भमा पनि  मेयरको उम्मेदवार को हुने भन्ने विषयमा भित्रि सहमति भईसकेको भन्ने चर्चा छ, त्यस्तो खाले सहमति भईसकेको हो र ? 

 –अँ, छ, छ, छ । भएको छ । हामी कतिपय निर्वाचनमा पार्टीले खानेपानीकै निर्वाचनमा भाग लियो । त्यहाँ पनि स्थानीय निर्वाचनको कुरा पनि चलेकैै हो । त्यहाँ भित्रि रुपमा पार्टीको निर्णय नै भएको छ । तर कसको नाममा भएको छ भन्ने कुरा मैले भन्न मिल्दैन् । निर्णय भईसकेको छ र भित्रि रुपमा अगुवा नेताहरुसंग सहमति भएको छ र त्यो सहमति भन्दा बाहिर जाने हाम्रो कुनै विकल्प नै छैन् । हामी जित्ने नेतालाई नै पार्टीबाट अगाडी बढाउँछौं । र विजयी पनि गराउँछौं । 
नगर ईकाईको पार्टीको चुनाब सकिएसंगै अब हाम्रो चुनौति भनेको स्थानीय निकायको चुनाब  हुनेछ । हाम्रो सम्पूर्ण ध्यान स्थानीय निकायप्रति केन्द्रित गर्दैछौं । भर्खरै निर्वाचन भएको कार्यसमितिलाई पनि पार्टीले मूल्याङकन गरिरहेको छ । हाम्रा नेताहरुमा को चाँहि निजगढमा सक्षम छन्, विकास रुचाउने छन्, लोकप्रिय छन्, यी सबै कुरालाई मूल्याङकन गर्दै कुनै न कुनै रुपमा यो गुण भएका नेतालाई हामी अगाडी बढाउने भनेर हाम्रो भित्रि सहमति गरेका हौं । हामी भावि स्थानीय निकायको चुनाबको लागि हामी एक दम प्रतिवद्ध भएर यो कार्य समिति बनेको छ । जसरी भए पनि निजगढ नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले लिएरै छाड्छ । हामी चुनाबमा जीत निकाल्छौं । 

Post a Comment

 
Top